फोनपेले एकै दिनमा १० अर्ब रूपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले सो उपलब्धि असोज ३० गते प्राप्त गरेको हो।
फोनपे नेपालको भुक्तानी सञ्चालक कम्पनी हो।
सन् २०१९ मा आफ्नो सञ्चालनपछि फोनपे लगातार नविन सेवा, प्रभाव र पूर्वाधारको सन्दर्भमा अगाडि बढिरहेको कम्पनीले जनाएको छ। यसकारण एकै दिन १० अर्ब रूपैयाँभन्दा बढी भुक्तानी कारोबार रातारत नभई लामो समयको मिहेनतपछि भएको बताएको छ।
लगभग सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आबद्ध गराउनु चुनौतिपूर्ण काम जस्तो देखिएता पनि फोनपेले आफ्नो सञ्चालनको पहिलो वर्षमा नै यो उपलब्धि हासिल गरेको थियो।
नेपालमा पहिलो पटक क्युआर प्रविधि ल्याउने क्रममा फोनपेले पोइन्ट अफ सेल (पिओएस) पूर्वाधारको तुलनामा लागत र परिचालन दुवै पक्षहरूलाई ध्यानमा राख्दै व्यापारी-मैत्री प्रणालीको विकास सुनिश्चित गरेको छ।
नयाँ सुविधाहरू प्रस्तुत गर्ने सन्दर्भमा मात्रै नभई सो सुविधाहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि फोनपे सक्रिय छ।
फोनपेले हासिल गरेको नयाँ उपलब्धिप्रति खुशी व्यक्त गर्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भने, 'यो उपलब्धि हाम्रो लागि ठुलो गर्वको कुरा हो। नेपालमा डिजिटल भुक्तानीलाई सशक्त बनाउने हाम्रो सामूहिक प्रयास फलदायी रहेको अनुभुति भएको छ।'
उनले कम्पनीले ग्राहकहरूको आवश्यकतालाई प्रमुख प्राथमिक्तामा राख्दै भुक्तानीका समाधानहरूलाई विस्तार गर्ने लक्ष्य रहेको समेत बताए।
एकै दिनमा १० अर्बभन्दा बढी रूपैयाँको कारोबार सेटल गर्ने आफ्नो विशाल क्षमताको माध्यमबाट कम्पनीले नेपालको डिजिटल भुक्तानी रूपान्तरणमा ठूलो प्रभाव पारेको छ।