नेपाल पे क्युआर सार्वजनिक भएको ६ महिना यता पहिलोपटक असोज महिनामा नेपाल पे क्युआरको प्रति महिना कारोबार १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
यसैगरी विभिन्न बैंक वित्तीय संस्थाहरू तथा भुक्तानी सेवा प्रदायकहरूमार्फत् नेपाल पे क्युआरमा ४ लाख २५ हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध भइसकेका छन्।
कारोबार रकम तथा मर्चेन्टको संख्या अनुसार यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुंगाको रुपमा लिइएको छ र यसबाट क्युआर भुक्तानीमा थप वृद्धि हुने पनि अपेक्षा गरिएको छ।
नेपाल पे क्युआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो। क्युआर स्किमको रुपमा समेत उपलब्ध रहेको उक्त नेपाल पे क्युआरमा एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।
बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्युआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपाल पे क्युआर र स्मार्ट क्युआरबीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ।
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले नेपाल पे क्युआरमा ४ लाख २५ हजार र स्मार्ट क्युआरको २ लाख ५० हजार समेत गरी ६ लाख ७५ हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध छन्।
त्यस्तै, सबै वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ र वालेटहरूबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ।
मर्चेन्ट र व्यवसायीहरूले नेपाल पे क्युआरमा आबद्ध भई ग्राहकहरूबाट क्युआरमार्फत् भुक्तानी प्राप्त गर्नका लागि आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन्।
भौतिक रुपमा क्युआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुरू गर्न सकिन्छ।