काठमाडौंमा मंगलबार पेट्रोल पदार्थ अभाव देखिए पनि बुधबारबाट पेट्रोल सहजै पाइने नेपाल आयल निगमले बताएको छ।
दुई दिन लगातार सार्वजनिक बिदा भएकाले पेट्रोल सकिएको र पम्पले उपलब्ध गराउन नसकेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए।
'शनिबार र आइतबार बिदा भयो। त्यसले गर्दा पेट्रोल सकिएको हो,' उनले भने, 'भोलि (बुधबार) देखि सहजै पाइन्छ।'
दसैं नजिकिएका कारण घर जाने उपभोक्ताको भिड छ। एकैपटक सबैले तेल हाल्दा पम्पमा लाइन देखिएको पनि उनले बताए।
उनका अनुसार बजारमा पेट्रोल सकिएको सूचना बाहिरिएपछि बजार अनुगमन भएको थियो।
'अनुगमन क्रममा पम्प व्यवसायीले नियतवस पेट्रोल नदिएको भेटिएकाे छैन,' उनले भने, 'व्यवसायीले त्यसरी तेल नदिनै मिल्दैन।'
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पम्पमा पेट्रोल सकिएकै कारण दिन नसकिएको बताए।
'पेट्रोल सकिएकाले नै हो समस्या भएको,' उनले भने, 'अब सहज भइसक्यो।'