खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि मंगलबारदेखि खसी–बोका र च्याङ्ग्रा बिक्री सुरू गरेको छ।
कम्पनीले जिउँदो खसी-बोका प्रतिकिलो ६ सय ७० रुपैयाँमा बेच्न थालेको हो। त्यस्तै च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ।
कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसी-बोका तथा च्याङ्ग्रा बिक्री सुरू गरिएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।
कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसी-बोका तथा रसुवाबाट च्यांङ्ग्रा ल्याएको छ। ती चौपाया सोमबार मात्रै काठमाडौं ल्याइएको हो।
कम्पनीले उपभोक्ता मूल्यमा हुन सक्ने असन्तुलन रोक्न सानो संख्यामा भए पनि खसी-बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ।
यस वर्षको दसैंमा दुई हजार खसी बोका तथा एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीको तयारी छ।