खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि मंगलबारदेखि बेच्ने खसीबोका तथा च्यांग्राको मूल्य निर्धारण गरेको छ।
कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो ६ सय ८० रूपैयाँमा बेच्ने भएको हो। त्यस्तै च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ६० रूपैयाँमा बिक्री गर्नेछ।
उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो १० रूपैयाँ छुट पाउने कम्पनीले जनाएको छ।
कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्यांग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।
कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्यांग्रा ल्याएको छ।
ती चौपाया सोमबार मात्रै काठमाडौं ल्याइएको हो।
कम्पनीले उपभोक्ता मूल्यमा हुन सक्ने असन्तुलन रोक्न सानो संख्यामा भए पनि खसीबोका तथा च्यांग्राको बिक्री गर्दै आएको छ।
यस वर्षको दसैंमा दुई हजार खसीबोका तथा एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीको तयारी छ।