पौभा कलाकार लोक चित्रकार र यती डिस्टिलरी प्रालिबीच सहकार्य भएको छ। उक्त सहकार्य भएसँगै चित्रकारले यती डिस्टिलरीको ओल्ड दरबार ह्विस्कीको बोतलमा रचनात्मक चित्रकला गरेका छन्।
कलाकार चित्रकारले ओल्ड दरबारको 'ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड ह्विस्की'का लागि बाह्रमासे फूलहरूको चित्र बोतलको बाहिरी भागमा प्रिन्ट गर्नका लागि तयार पारेका हुन्।
कमला श्रेष्ठको कविता 'कतिको दुःख दिन्छौ कृष्ण'बाट प्रेरित उक्त कलाकृतिमा कवितामा उल्लेख भएका २० वटा फूलको नाम समेटिएका छन्।
परम्परागत पौभा कलाकार लोक चित्रकारले पहिलो चित्रकला १२ वर्षको उमेरमा गरेका थिए। उनको चित्रकला शास्त्रीय ग्रन्थ, परम्परा र ऐतिहासिक वास्तुकलाबाट प्रभावित हुन्छन्। विश्वभर आफ्ना कलाकृतिको प्रदर्शनी गरेका चित्रकारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१३ मा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित गरेको थियो।
चित्रकारसँग यती डिस्टिलरीले साझेदारी गर्न पाउँदा निकै खुशी लागेको कम्पनीका प्रबन्ध निर्देशक अभिशेक श्रेष्ठले बताए।
उक्त सहकार्यले नेवा लोककलाको अभ्यास भावी पुस्ताका लागि थप पहुँचयोग्य बनाउने लोक चित्रकारको जीवनभरको सत्कर्मलाई सहयोग गर्ने अवसर पनि प्रदान गर्नेमा उनी विश्वस्त छन्।
यो सहकार्यबाट हुने आम्दानीले नेवा लोककलाभित्र रहेको अभ्यास र ज्ञानको रचना गर्ने, एकआपसमा आदानप्रदान गर्ने र पुनरुत्थान गर्ने एक वर्ष लामो कार्यक्रमलाई सहयोग गर्ने समेत उनले बताए।
कम्पनीले ओल्ड दरबार एक्स लोक चित्रकार लिमिटेड एडिसन (सीमित संस्करण) पनि सार्वजनिक गरेको छ।
कम्पनीले यसको ८ हजार बोटल मात्र सार्वजनिक गरेको हो। लिमिटेड एडिसन बोटलहरू असोज २९ गतेबाट काठमाडौं उपत्यका वरपर अधिकतम खुद्रा मूल्य चार हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
लिमिटेड एडिसन बोटल बाहेकको ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की पनि चार हजार पाँच सय ७५ रूपैयामा उपलब्ध हुने कम्पनीले जनाएको छ।