चितवनको सौराहा नजिकै सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा आएको छ। खैरहनी नगरपालिका–१३ हर्नरी भन्ने ठाउँमा बनेको रिसोर्ट आइतबारबाट सञ्चालनमा आएको हो।
सिद्धार्थ हस्पिटालिटीले आफ्नो लक्जरी ब्राण्ड सिद्धार्थ भिलासाको दोस्रो शाखाको रूपमा यो रिसोर्ट सञ्चालनमा ल्याएको छ।
पर्यटन व्यवसायी बासु ढुंगानाले ९ वर्षअघि निर्माण सुरू गरेको रिसोर्टमा पछि पूर्वसांसद उमेश श्रेष्ठ, विद्या लिम्बु, रमेशबाबु वाग्ले र गीता अधिकारी पाण्डेले पनि लगानी गरेका थिए। सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउँदै यस क्षेत्रको सम्वृद्धिमा सहयोग गर्ने लक्ष्य रहेको बताए।
बनबास चितवन प्रालिका अध्यक्ष बासु ढुंगानाका अनुसार रिसोर्ट निर्माणमा ४५ करोड रुपैयाँ खर्च भएको छ। रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको उनले बताए।
तीन बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वनको नजिक छ। यहाँ २४ भिल्ला र २ स्वीटसहित ३४ वटा सुविधायुक्त कोठा छन्। भिल्लाहरू काठले बनेका, माटोले पोतिएका, खप्डाले छाएका छन्। सम्पूर्ण भिल्लाको नामाकरण चाराको नामबाट राखिएको छ। रिसोर्ट परिसरमा ठूलो ताल र स्विमिङ पुल पनि छन्।
‘खुल्ला जंगलभित्र छुट्टाछुट्टै भिल्ला भएका कारण एक अर्का कसैलाई कुनै किसिमको असर नपर्ने र जंगलभित्रै बास बसेको महशुस हुने भएकाले यसको नामाकरण बनबास गरिएको हो,’ अध्यक्ष ढुंगानाले भने, ‘हामीले रिसोर्टभित्रै ताल बनाएर विभिन्न जातका माछाहरू पालेका छौं। जंगलकै वातावरणमा रिसोर्ट भएकाले विभिन्न प्रजातिका चराहरू यहाँ भित्रै बसेर देख्न पाइन्छ।’
रिसोर्टमा २ वटा सभा गोष्ठी हल, नजिकै रहेका सामुदायिक वनमा रमाउने जनावरको दृश्यावलोकन गर्न सकिने रेष्टुरेन्ट रहेको महाप्रबन्धक प्रकाश न्यौपानेले बताए।
न्यौपानेकाअनुसार यहाँ बस्न विदेशी पर्यटकले दुई रात, तीन दिनको प्याकेजका लागि २५० देखि ४ सय डलरसम्म तिर्नुपर्छ। यो रकमबाट पर्यटकले हात्ती सफारीबाहेकका प्याकेजहरू प्राप्त गर्न सक्छन्। आन्तरिक पर्यटक एक जोडीलाई दस हजार रुपैयाँमा एक रात बसाइ र ब्रेकफास्टको सुविधा छ।
‘हामीले युरोपियन, अमेरिकन पर्यटकलाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याएका छौं। यहाँ अन्य देशका र आन्तरिक पर्यटकहरू पनि आउन सक्नुहुन्छ,’ न्यौपानेले भने, ‘विदेशीको भन्दा आन्तरिक पर्यटकको कर सरकारलाई कम बुझाए हुने भएकाले शुल्क पनि कम राखेका छौं।’
होटल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इन्स्टिच्युटलगायतका व्यवसायको सञ्जाल तयार पारेर सिद्धार्थ ग्रुपले ३० शाखामार्फत सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए।
कैलालीको टीकापुर र कर्णाली चिसापानी, झापाको बिर्तामोड, नुवाकोटको बट्टार, कपिलवस्तुको चन्द्रौटा, काठमाडौंको बानेश्वर, तीनकुने, सुन्धारा, बौद्ध, धोवीघाट, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, बुटवल, चितवनको चुम्लिङटारपछि सौराहामा सेवा सुरू गरेको न्यौपानेले बताए।
यो ग्रुपले नेपालगञ्जमा चारतारे र भैरहवामा पाँचतारे होटल सञ्चालन गरेको छ। सिद्धार्थ भिलासा बनबासा रिसोर्ट पनि पाँचतारे होटलले दिने सेवा सुविधा दिनेगरी सुरू गरिएको अध्यक्ष बासु ढुंगानाले बताए।