अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ।
ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन्।
त्यसैगरी अधिकांश विकास बैंकहरू, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आइपिएस मोबाइल एपबाट पनि नेपाल पे क्युआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ।
नेपाल पे क्युआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्युआर स्क्यान गर्न अप्सन नेपाल पेमा गई लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।
नेपाल पे क्युआरमा अन्तरआबद्धता कायम गर्न यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट क्युआर भुक्तानीमा वृद्धि हुने पनि अपेक्षा गरिएको छ।
नेपाल पे क्युआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो, क्युआर स्किमको रुपमा समेत पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्यूआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपाल पे क्युआर र स्मार्ट क्युआरबीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ।
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्युआरमा करिब ४ लाख मर्चेन्टहरु आबद्ध गरिसकेका छन्।
मर्चेन्ट र व्यवसायीहरूले नेपाल पे क्यूआरमा आबद्ध भई ग्राहकहरुबाट क्युआरमार्फत् भुक्तानी प्राप्त गर्नका लागि आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन्।
भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुरू गर्न सकिन्छ।
धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एपमार्फत् नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ।
हालै भ्वाइसमा आधारित क्युआर नोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरूले थालनी गरिसकेका छन्।