चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि विद्युतीय सवारी साधन पनि आउन सुरू गरेको छ।
कन्टेनराइज्ड कार्गो र पेट्रोलबाट चल्ने गाडी मात्रै आउने गरेकोमा असोज २० गतेदेखि बन्दरगाहमा विद्युतीय गाडीहरू समेत आउने गरेको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ।
समितिका अनुसार इभी नेपाल जि मोटर्स कम्पनीको ४ वटा गाडी भन्सार जाँचपासको लागि आएको छ। उक्त गाडीहरू भन्सार जाँचपासको लागि वीरगञ्ज नाकाबाट सिधैं चोभार बन्दरगाहमा ल्याइएको हो।
चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास प्रक्रिया व्यस्थित भएपछि सवारी साधन चोभार आउन थालेका छन्।
आगामी दिनमा अझै थप सवारी चोभार आउने जानकारी आयातकर्ताहरूले गराएका छन्।
चारभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि कन्टेजराइज्ड मालवस्तु एवम् नयाँ सवारी साधनहरू चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि ल्याउन आयातकर्ताहरूसँग छफलफल भइसको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।
चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालवाहक सवारी साधन एवम् नयाँ सवारी साधनहरूको लागि प्रवेश निःशुल्क गर्नुका साथै पार्किङ एवम् गोदाम शुल्क न्यूनतम राखिएको छ।
हालसम्म बन्दरगाहमा २०२ वटा कन्टेनर र ८७ (८३ वटा पेट्रोल र ४ वटा विद्युतीय) वटा नयाँ गाडीहरू भन्सार जाँचपासका लागि आइसकेका छन्।