निश्चित उद्योगलाई लाभ पुर्याउने गरी ग्यासको मूल्य बढाएको भन्दै नेपाल आयल निगमलाई आरोप लगाइएको छ।
सोमबार संसदको लेखा समितिको बैठकमा उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले निश्चित उद्योगले ग्यास स्टोर गरेपछि निगमले ग्यासको मूल्य बढाएको आरोप लगाएका हुन्।
निगमले स्वचालित मूल्य प्रणालीको आधार प्रत्येक महिनाको १ तारिखमा ग्यासको मूल्य समायोजन गर्दै आएको छ।
भदौ १५ गते निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय ३५ रूपैयाँ बढाउने निर्णय गरेको थियो। भदौ १४ गतेसम्म प्रतिसिलिन्डर एक हजार ६ सय ६० रूपैयाँमा बिक्री गरिएको ग्यासको मूल्य भदौ १५ गते मूल्य बढाएपछि प्रतिसिलिन्डर एक हजार आठ सय ९५ रूपैयाँ पुगेको छ।
बानियाँले मूल्य बढाउने क्रममा कुन ग्यास उद्योगसँग कति स्टोर छ भन्ने कुरा नै घोषणा नगरेको भन्दै मिलेमतोमा लाभ दिइएको आरोप लगाएका हुन्। उनले छानबिन गर्नको लागि संसदीय समितिलाई आग्रह समेत गरेका छन्।
समिति सदस्य गोकुल बास्कोटाले मिलेमतोमा धेरै आर्थिक अनियमितता भएको भन्दै ग्यासको विषयमा तत्काल छानबिन गर्नुपर्ने माग गरेका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आफूलाई सम्बन्धित विषयमा जानकारी नभएको बताए। उनले भण्डारण गरेर मूल्य बढाइएको भन्ने विषयमा मातहतका कर्मचारीसँग सोधपुछ गर्ने प्रतिक्रिया दिए।