प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जंगली बाँकोलाई प्रस्ट चिनाउँछ।
एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जंगलमा संकलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् ।
छुँदै चिलाउने वनस्पतिलाई सहरका भान्सामा पुर्याउने अभियान यहाँका किसानले थालेका हुन्।
समूहमा आबद्ध किसानले जंगलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण गर्न थालेको तीन वर्ष भयो।
बाँकोले गाउँ-सहर जोडेको छ भने दुःख किसानको आम्दानीको स्रोत बनेको छ।
पहिलो वर्ष गाउँघरका लागि मात्रै गुन्द्रुक उत्पादन गरेकामा गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफैंले लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन्।
‘किसानको उत्पादन व्यवसायिक रुपमा बजारमा जाँदा त्यसको मूल्य लगायत धेरै कुरामा सहज हुन्छ, अघिल्लो वर्ष नगरले सहयोग गरेपछि अहिले किसानले आफ्नै लगानीमा बजार ल्याएका छन्,’ कृषि प्राविधिक रवीन्द्र शर्माले भने, ‘बाँकोबाट राम्रो आम्दानी हुन्छ।’
यहाँ उत्पादित बाँको स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत सहरमा माग हुन थालेको उनले बताए।
छन्त्याल कृषक समूहमा आबद्ध दमेकका एक सय ४३ किसानको सामूहिक प्रयासमा बाँकोको बजारीकरण थालिएको समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले बताए। उनका अनुसार अन्य सागबाट भन्दा बाँकोको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोषिलो हुन्छ।
‘नजिकको जंगल वर्षमा दुई पटक १५/१५ दिनका लागि मात्रै बाँको टिप्नका लागि खुल्छ, धेरै टिप्नेले धेरै आम्दानी गर्छ,’ छन्त्यालले भने, ‘समूहमा आबद्ध किसानले टिपेको बाँको समूहले नगदमा खरिद गरेर प्रशोधन, लेबलिङ, प्याकेजिङ गर्छन् र बजार पठाउँछन्।’
उनका अनुसार विदेशमा रहेका नेपालीले समेत बाँकोको गुन्द्रुकको माग गर्ने गरेका छन्।
उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जंगली वनस्पति बाँको अब व्यावसायिक किसानको रोजाइमा पर्न थालेको छन्त्यालले बताए।
सहरिया भान्छामा बाँकोको गुन्द्रुक पाक्न थालेको उनको भनाइ छ।
दमेकका झन्डै पाँच सय घरमा बाँको भित्रिने गरे यसलाई कसैले व्यवसाय बनाएका थिएनन्। यो वर्ष ५ सय किलो बाँको बजार पठाउने यो समूहको योजना छ।
छन्त्यालका अनुसार सय ग्रामको एउटा प्याकेट बनाइन्छ। एक प्याकेटको मूल्य तीन सय राखिएको छ। अघिल्लो वर्ष एक प्याकेटको मूल्य ३५० रूपैयाँ थियो। अहिले ५० रूपैयाँ घटाइएको छ।
छन्त्यालका अनुसार बाँको जेठ र असार महिनामा जंगलभरी हुन्छ। असोजसम्म नटिपे त्यसै हराएर जान्छ। बाँको टिप्न पनि सावधानी अपनाउनुपर्छ। बाँकोको पात शरीरमा लाग्यो भने शरीर चिलाउँछ।
बाँकोको पात र डाँठ थिचेर महिना दिनसम्म प्लाष्टिकको ड्रमभित्र राखेपछिमात्रै गुन्द्रुक बन्छ। एक महिनापछि ड्रमबाट निकालेर सुकाइन्छ। सुकेपछि मात्रै प्याकिङ गरी बजारमा पठाइन्छ।