देवयानी इन्टरनेशनल नेपालले काठमाडौंको कलंकीमा 'विशेष केएफसी रेस्टुरेन्ट' सञ्चालनमा ल्याएको हो।
२३ सेप्टेम्बर अर्थात् अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा शनिबार विशेष रुपमा बोल्ने र श्रवण शक्ति नभएका महिलाहरूद्वारा सञ्चालित विशेष केएफसी सञ्चालनमा ल्याएको हो।
'रेस्टुरेन्टमा त्यस्ता फरक क्षमता भएका जोशपूर्ण र समर्पित महिलाहरूको टोली सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्न सीपहरूले प्रशिक्षित छ। यो पहल देवयानी इन्टरनेशनल नेपाल र केएफसीको सबैका लागि समान अवसरहरू सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धी हो', देवयानी इन्टरनेशनलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
केएफसी इन्डिया र नेपालका प्रमुख कार्यकारी अधिकृत रजत लुथराले विशेष रुपमा बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट सञ्चालन भएकोमा खुशी व्यक्त गरे।
'यो एक संस्थाको रुपमा देवयानी इन्टरनेशनल नेपालको लागि महत्वपूर्ण उपलब्धी हो र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्दछ', उनले भने।
लेप्रोसी मिसन नेपालको समर्थनले विशेष केएफसी सञ्चालनका लागि विशेष टोली संयोजन गर्न सफल भएको सिइओ लुथराले बताए। आगामी दिनमा विशेष रुपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरूका लागि थप रोजगारीको अवसर सिर्जना गर्ने र यस्ता रेस्टुरेन्टहरू थप गर्दै जाने देवयानी इन्टरनेशनलले जनाएको छ।
केएफसी विश्वव्यापी चिकेन रेस्टुरेन्ट ब्रान्ड हो, जसको विश्वका १४५ देशमा २६ हजारभन्दा बढी रेस्टुरेन्ट सञ्चालन भइरहेका छन्।