व्यवसायिक घराना एमएस समूहको चौथो पुस्ताकी माल्भिका अग्रवालले पस्मिनाका उत्पादन बजारमा ल्याएकी छन्।
फेसन डिजाइनमा पहिचान बनाउने उद्देश्यले पस्मिनाको उत्पादन सुरू गरेको माल्भिका बताउँछिन्।
'बुनेकोः क्यासमिर टेल्स' मार्फत उनले पस्मिनाको सारी, ट्युब टप्स, स्वेटर, वानपिस लगायतका अन्य कपडा बजारमा ल्याएकी हुन्।
'बुनेको क्यासमिर सुन्ने बित्तिकै सल, स्कार्फ, गलबन्दी दिमागमा आउँछ,' उनले भनिन्, 'त्यो भएर मैले अन्य डिजाइनका कपडा बजारमा ल्याएकी हुँ।'
यी कपडाको डिजाइन माल्भिका आफैंले गरकी हुन्। आवश्यक कच्चा पदार्थ भने बाहिरबाट ल्याउने गरिएको उनले बताइन्। उनले फेसन डिजाइनमा स्नातकोत्तर गरेकी छन्।
'बुनेकोः क्यासमिर टेल्स'का उत्पादनमा नेपालको शील्प कौशल र इटालीको डिजाइनको विशिस्ट कलालाई एकै ठाँउमा ल्याउने प्रयास गरिएको छ।
यी कपडाको प्रयोगबाट ग्राहकलाई आराम र फेसनको अनुभूति हुने उनको भनाइ छ।
जाडोका लागि समेत आकर्षक पस्मिनाका कपडा उत्पादन गर्ने योजनामा छिन् माल्भिका।
'जाडोमा मानिसहरुले फेसनेबल लुगा लगाउन नै पाइरहेका हुँदैनन्,' उनले भनिन्, 'जाडोका लागि आकर्षक डिजाइनका न्याना पहिरनहरू पनि उत्पादन गर्छौं।'
उनकाअनुसार हाल 'बुनेकोः क्यासमिर टेल्स'का लुगाहरू अनलाइन स्टोरमार्फत उपलब्ध हुनेछ। केही समयपछि आउटलेट खोज्ने योजना रहेको उनले जानकारी दिइन्।