नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैर आवासीय नेपाली संघलाई आग्रह गरेका छन्।
नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली संघको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बुधबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य उद्योग लगायत धेरै क्षेत्रमा लगानी विस्तारकाे प्रचुर सम्भावना रहेको बताए।
यी क्षेत्रमा लगानी जुटाउन तथा प्रविधि भित्र्याउन गैरआवासीय नेपाली संघले मुलुक बाहिरबाट विशेष पहल गर्न सक्ने उनको भनाइ छ।
आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले गैर आवासीय नेपालीहरूसँगको सहकार्यमा आइएमई ग्रुपले जलविद्युत, पर्यटन, पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको बताए।
उनले नेपालमा धेरै र नयाँ सम्भावना रहेको र तिनमा लगानी र प्रविधि भित्र्याउन सकियो भने त्यसबाट आफ्नो मातृभूमिलाई योगदान गर्नुका साथै यथोचित फाइदा समेत लिन सकिने बताए।
नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली संघबीच सुमधुर सम्बन्ध रहेको उनको भनाइ थियो।
उनले पर्यटन पूर्वाधार, जलविद्युत, सूचना प्रविधि, केबलकार, रिसोर्ट तथा थिम पार्कहरूमा लगानी प्रवर्द्धन सँगसँगै प्रत्येक लगानीकर्तालाई नाफाको हिस्सेदार बनाउन सकिने प्रतिबद्धता गरे।