खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सडक निर्माण अलपत्र छाड्ने ठेकेदारको स्काभेटर, टिपर, रोलरलगायत उपकरण नियन्त्रणमा लिई ताल्चा लगाएको छ।
ढुकुछु/बगाले/बिएण्टी जेभी निर्माण कम्पनीले नगरपालिकाको अस्पताल चोकदेखि लफ्याङ दुवे चौतारा नजिकसम्म सडक निर्माण गर्ने गरी २०७८ जेठ २० मा सम्झौता गरेको थियो। तर पटक-पटक म्याद थप गर्दा पनि काम पूरा नगरेपछि ‘एक्सन’मा उत्रनु परेको नगर प्रमुख तीर्थराज भट्टराईले बताए।
निर्माण कम्पनीले अलपत्र छाडेको एउटा स्काभेटर, दुई वटा टिपर तथा एक/एक वटा रोलर र ग्रेडर नगरपालिकाको तर्फबाट नियन्त्रणमा लिएर मङ्गलबार ताल्चा लगाइएको भट्टराईले जानकारी दिए।
‘नगरपालिका क्षेत्रभित्र वर्षौंदेखि अलपत्र पारिएका योजनाहरूको विषयमा निर्माण व्यवसायीलगायत सरोकारवालाहरूलाई अघिल्लो कात्तिक ३ गते नै मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन ३५ दिने सूचना दिएका थियौं,’ मेयर भट्टराईले भने।
निर्माण कम्पनीले सात महिनाभित्र (२०७८ पुस २०) सक्नुपर्ने काम तीन २७ महिनासम्म अलपत्र छाडेपछि बाध्य भएर कारबाही गरिएको उनले बताए।
‘मासिक कार्ययोजना र प्रगति विवरण माग गरिएको ३५ दिनभित्र काम पुनः सञ्चालन नगरे कारबाही गर्छौं भनेर अग्रिम जानकारी गराएकै हो। अहिले आएर ५ करोडको योजना अलपत्र पार्ने, स्थानीय नागरिकहरूलाई दु:ख सास्ती हुने, नगरपालिकाको विकासमा अवरोध पुग्ने, बिरामी, ज्येष्ठ नागरिक, अशक्त बालबालिका र महिलाहरूलाई आवतजावतमा समस्या भएपछि निर्माण उपकरणमा ताला लगाइएको हो,’ उनले भने।
ठेकेदारले सप्लायर्स र मजदुरको भुक्तानी नदिएको र विभिन्न होटलमा वक्यौता रहेको पनि उनले बताए।