ललितपुरको पाटन म्युजियममा 'अबिर आर्टिसान २०२३' आयोजना हुने भएको छ।
नेपाली उत्पादनको बिक्री र प्रदर्शनी गर्ने उद्देश्यले अबिर डिजाइनर हबले घरेलु तथा साना उद्योग महासंघ ललितपुरसँगको सहकार्यमा प्रदर्शनी मेला गर्न लागेको हो। प्रदर्शनी असोज १३ र १२ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।
प्रदर्शनीमा काठमाडौं उपत्यकासँगै वरपरका जिल्लाहरूमा उत्पादित सामग्रीहरू राखिने अबिरकी संस्थापक रश्मी तन्डुकारले बताइन्।
उनकाअनुसार प्रदर्शनीमा ढाकाका कपडा, नेपाली पश्मिना, हातले बुनेका कपडा र गरगहना साथै सौन्दर्यका सामग्रीहरू, ब्याग, स्थानीय उत्पादनहरू हुनेछन्।
'नेपाली उत्पादनहरूलाई प्रवर्द्धन, बजारीकरण र बिक्री गराउनका लागि प्रदर्शनी मेला आयोजना गर्न लागिएको हो' उनले भनिन्, 'यसले नयाँ उद्यमीहरूलाई बुझ्न र अनुभव साट्ने मौका पनि दिनेछ।'
प्रदर्शनीमा ४५ भन्दा बढी स्टल हुनेछन्। यसअघि पनि अबिरले नेपाली उत्पादन र फेसन डिजाइनको प्रदर्शनी गरेको थियो।