उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले चामलको अभाव नहुने बताएका छन्।
भारतले चामलमा प्रतिबन्ध लगाएसँगै नेपालमा चामलको आपूर्तिलाई लिएर चिन्ता बढेको छ। भारतले विभिन्न चामलमा कर लगाउने र निर्यात प्रतिबन्ध गरेसँगै २० प्रतिशतसम्म चामल बढेको थियो।
'अहिले हामीसँग तीन महिनालाई चामलको मौज्दात छ,' रिजालले भने, 'तीन महिनापछि हाम्रै आन्तरिक उत्पादन बजारमा आउन थाल्छ।'
भारतले चामलको आवश्यकता पर्ने देशबाट सरकारी प्रक्रियाबाटै माग भएमा सो देशको लागि चामल निर्यात गर्ने उल्लेख गरेकाले समस्या नहुने मन्त्री रिजाल बताउँछन्।
सरकारले भारतसँग १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी माग गरेको छ।
मन्त्री रिजालका अनुसार नेपालले गरेको मागमा भारतले सैद्धान्तिक सहमति जनाइसकेको छ।
मन्त्रालयका अनुसार हाल १४ हजार मेट्रिक टन चामल मौज्दात छ। पाँच हजार मेट्रिक टन चामल खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ।