चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधन आउने क्रम बढिरहेको छ।
सुरू भएदेखि हालसम्म ४९ वटा सवारी साधन जाँच पास भइसकेको नेपाल इन्टरमोडल विकास समितिले बताएको छ।
गत असार १४ गतेदेखि चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारी साधन आउन सुरू गरेको हो।
हालसम्म सांग्रिला मोटर्स कम्पनीको पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरू र जिओ अटोमोवाइल्सका ५ वटा गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास गर्नेगरी आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेले बताए।
उक्त गाडीहरू वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुख्खा बन्दरगाहमा ल्याएको हो।
समितिका कार्यकारी निर्देशक गजुरेलले हाल सवारी साधन आउन सहजीकरण गरिएको बताए।
आगामी दिनमा अझै सवारी चोभार आउने जानकारी व्यवसायीहरूले दिएका छन्। यसका साथै अन्य व्यवसायीहरूसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।
चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालबाहक सावरी साधन एवम् नयाँ सवारी साधनहरूको लागि प्रवेश निःशुल्क गर्नुका साथै पार्किङ एवम् गोदाम शुल्क समेत न्यूनतम राखिएको छ।