भारतले प्याजमा भन्सार शुल्क लगाएसँगै कालिमाटी फलफूल तथा तरकारी बजारमा त्यहाँबाट प्याज आउन छाडेको छ।
सोमबार र मंगलबार भारतबाट कालिमाटी बजारमा प्याज नआएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।
‘हिजो पनि अस्तिको स्टक बजारमा देखिएको थियो। आज आएको छैन,’ उनले भने।
कालिमाटी बजारमा भारतीय प्याज नआएपछि मूल्य सूचीबाट भारतीय प्याज हटेको छ।
भारतकाे सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको थियो।
यो कर २१ डिसेम्बर २०२३ सम्म लागू हुने भएको छ। मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारत सरकारले यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्याजको थोक मूल्य अधिकतम प्रतिकिलो ६२ रूपैयाँमा बिक्री भइरहेको थियो भने सोमबार ८० रूपैयाँमा बिक्री भइरहेको थियो। बजारमा उपभाेक्ताले प्रतिकेजी एक सय रूपैयाँ हाराहारीमा किनिरहेका छन्।
भारतमा गत महिना मात्रै प्याजको मूल्य २० प्रतिशतले बढेको थियो।
भारतमा प्याज केजीको २४ भारू परिरहेको छ। भारतमा अगष्ट महिनामा विगत एक दशकयताकै सुख्खायाम लागेकाले पनि उत्पादनमा कटौती भइरहेको छ।
नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुन्छ भने ७ करोडको सुकाएको प्याज आयात हुन्छ।
नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा प्याजलाई पनि मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा राखेको छ। जसअनुसार साउनबाट प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्न थालेको छ।
भारतले अहिले लगाएको करको कारण यहाँ दिनप्रतिदिन मूल्य बढ्दै गएकाे छ।