दोलखाका अधिकांश ठाउँको उत्पादन अब काठमाडौंमा पाइने भएको छ। काठमाडौंको शंखमुलस्थित टावरको जिरी लेकाली हाटघरमा ४० भन्दा बढी स्थानीय उत्पादनहरू पाइने स्थानीय लिलाराम खड्काले जानकारी दिए।
खड्काले जिरी र विशेषगरी दोलखाको उत्पादनलाई प्रवर्द्धन गर्न काठमाडौंमा हाटघरको अवधारणा ल्याएका हुन्।
'स्थानीय स्तरमा उत्पादित सबैखाले अन्न र तरकारी साथै विशेष उत्पादनको प्रवर्द्धनका लागि हाटघरको अवधारणा ल्याएको हो,' उनले सेतोपाटीसँग भने, 'विस्तारै काठमाडौं उपत्यकासँगै अन्य जिल्लाहरूमा पनि दोलखाको उत्पादन पुर्याउने सोच छ।'
हाटघर सुरू भएको एक महिना भयो। खड्काले हरेक दिन दोलखाबाट सार्वजनिक सवारीमा राखेर यी उत्पादनहरू ल्याउने बताए। हाल जिरीसँगै दोलखाको अन्य ठाउँबाट पनि विभिन्न उत्पादनहरू जुटाइरहेका छन्।
यहाँ जिरीमा उत्पादित पहेँलो च्याउ, घ्यू, चिज, छुर्पी, कोदो, मकै, जौ र फापरको पिठो, साग, गोलभेँडा, काक्रो, धनियाँ, साग, अकबरेलगायत पाइन्छ। सिजनअनुसारका उत्पादन बढाउँदै जाने उनको योजना छ।