सरकारले भारतबाट १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी ल्याउने भएको छ।
भारतले चामलको निर्यातमा कर लगाएको कारण नेपालमा चामलको मूल्य वृद्धि भएको छ। मूल्य वृद्धिलाई रोक्न सरकारले धान, चिनी र चामल भारतबाट ल्याउन लागेको हो।
भारतले गत वर्ष भदौ अन्तिमदेखि कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। बासमती र उसिनाबाहेकका अरू चामल र धान निर्यातमा भने २० प्रतिशत कर लगाएको थियो।
शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भएको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक गजेन्द्र प्रसाद ठाकुरले भारतबाट सो परिमाणको खाद्यान्न ल्याउन लागेको जानकारी दिएका हुन्।
'सचिव ज्यूसँगको छलफलमा उहाँले भारतबाट धान, चामल, चिनी ल्याउने निर्णय भएको जानकारी दिनुभएको छ, ठाकुरले भने, 'के कसरी ल्याउने भन्ने निर्णय मन्त्रालयले गर्नेछ।'
भारतले निर्यात प्रतिबन्ध गर्नुअघि २५ केजीको प्रतिबोरा चामल दुई हजारदेखि दुई हजार ५० रुपैयाँमा बिक्री भइरहेको थियो। अहिले सोही परिमाणको चामलको मूल्य दुई हजार एक सयदेखि दुई हजार एक सय ५० रुपैयाँसम्म पुगेको छ।