चोभार सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले आउँदो पाँच वर्षका लागि सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन निजी कम्पनीमार्फत गर्न लागेको हो।
बोलपत्रको अवधि ४५ दिनको रहेको र बोलपत्र बुझाउने अन्तिम मिति भदौ २२ गतेसम्म रहेको छ।
बोलपत्रमा भाग लिनको लागि आवश्यक योग्यता पोर्ट मेनेजमेन्ट/कन्टेनर फ्रेट स्टेशन मेनेजमेन्ट/फ्रेट टर्मिनल मेनेजमेन्ट/वेयरहाउस/ट्रान्सपोर्टेशन/क्लियरिङ एण्ड फरवार्डिङ/फ्रेट फरवार्डिङमा कम्तिमा ५ वर्षको अनुभव हुनुपर्ने उल्लेख गरिएको छ।
साथै, विगत तीन वर्षको औसत वित्तीय कारोबार कम्तिमा ६० लाख रुपैयाँ बराबरको हुनुपर्ने प्रावधान राखिएको छ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अन्तर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान गरी आर्थिक तथा प्राविधिक दृष्टिकोणले सक्षम ठहरिएका कम्पनीबाट सरल, सुगम, किफायती एवम् भरपर्दो सेवा सञ्चालन गर्न/गराउन टर्मिनलको व्यवस्थापन तथा सञ्चालन योग्य कम्पनीलाई स्वीकृति दिने निर्णय भएको बताए।
चोभार सुख्खा बन्दरगाह सीमा नाकाबाट टाढा रहेको सुख्खा बन्दरगाह भएकाले यहाँबाट हुने ट्राफिक चाप तथा वित्तीय कारोबारको विषयमा यकिन गर्न सकिने अवस्था नभएका कारण समिति आफैँले सञ्चालन गर्दै आएको थियो।
अन्य सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीहरू जस्तै चोभार सुख्खा बन्दरगाह पनि निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन गराउन लागिएको हो।
छनौट हुने कम्पनीको विज्ञता प्रयोग गरी सञ्चालन तथा व्यवस्थापन भएपछि बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउने र व्यापार सहजीकरण चुस्त, छिटो छरितो र किफायती विश्वास समितिले लिएको छ।