सौन्दर्य सामग्री पाइने इ-कमर्स प्लेटफर्म फरेभरयोङको ब्रान्ड एम्बेसडरका रूपमा अभिनेत्री सुरक्षा पन्त नियुक्त भएकी छन्।
कम्पनीले बिहीबार एक कार्यक्रम आयोजना गर्दै नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको हो। साथै, दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
फरेभरयोङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शक्ति थापाले आफ्नो इ-कमर्सको ब्रान्ड एम्बेसडरका रूपमा अभिनेत्री सुरक्षालाई नियुक्त गर्न पाउँदा र सहकार्यमा काम गर्न पाउँदा खुशी व्यक्त गरे।
'सुरक्षा पन्तलाई फरेभरयोङ परिवारमा स्वागत गर्न पाउँदा हामी निकै उत्साहित छौं,' उनले कार्यक्रममा बोल्दै भने, 'उहाँको कामप्रतिको लगाव र साहसी व्यक्तित्व हाम्रो ब्रान्डको दर्शनसँग मिल्छ। त्यसैले उहाँसँग सहकार्य गरेका हौं।'
फरेभरयोङमा विभिन्न तीन सय बढी ब्रान्डका १० हजारभन्दा बढी प्रामाणिक मेकअप र छालालाई हेरचाह गर्ने सामग्रीहरू पाइन्छ। यस्ता सामग्रीहरू फरेभरयोङको आधिकारिक वेबसाइट वा एनड्रोइड प्लेस्टोर र आइओएसको एपस्टोरमा रहेको एप डाउनलोड गरी खरिद गर्न सकिन्छ। यसबाहेक कम्पनीले पोखरामा एउटा भौतिक स्टोर पनि सञ्चालनमा राखेको छ।
कम्पनीका सिइओ थापाका अनुसार छिट्टै यसले काठमाडौंमा पनि भौतिक स्टोर सञ्चालनमा ल्याउने तयारी गर्दैछ। यसबाहेक आफ्नो प्लेटफर्ममार्फत विश्वको विभिन्न देशमा सामग्री निर्यात गर्ने योजना बनाएको छ।
विगत पाँच वर्षदेखि फरेभरयोङले नेपालभर आफ्नो सेवा पुर्याइरहेको छ। कम्पनीमा अहिले करिब ५० जना कर्मचारीहरू सक्रिय छन्।