नेपाल पे क्युआर र स्मार्ट क्युआरबीच क्युआर भुक्तानीका लागि नेटवर्क लेभलको अन्तरआबद्धता सुरू भएको छ ।
यो सँगै प्रयोगकर्ताहरूले नेपाल पे क्युआरमा आबद्ध भएका मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आइपिएसका स्मार्ट क्युआरको मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।
त्यसैगरी, स्मार्ट क्युआरमा आबद्ध भएका मोबाइल बैंकिङ र वालेटका प्रयोगकर्ताले नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बताइएको छ।
स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू, नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानलगायत बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिको उपस्थितिमा यी सेवा सुरू भएको घोषणा गरिएको हो।
एनसिएचएल र एससिटीको क्युआर नेटवर्कबीच क्युआर भुक्तानीलाई समर्थन र प्रवर्द्धन गर्न नेटवर्क लेभलको अन्तरआबद्धता भएको कम्पनीको भनाइ छ।
यस अन्तरआबद्धतापछि ग्राहक र मर्चेन्टहरूले भुक्तानीका लागि निश्चित क्युआर खोजिराख्नु नपर्ने र दुवै नेटवर्कका इस्युइङ एप र मर्चेन्ट क्युआरले काम गर्ने जनाइएको छ।
दुवै नेपाल पे क्युआर र स्मार्ट क्युआरको क्युआर भुक्तानी हाल माच्छापुच्छ्रे बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, आइसिएफसी फाइनान्स, आइएमई पे खल्ती, प्रभु पे, हाम्रो पे, सेल पे, एनक्यास, आइक्यास, पेवेललगायतका वालेट तथा कनेक्ट आइपिएसबाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ।
साथै, अन्य बैंक तथा वित्तीय संस्था र वालेटहरू पनि चाँडै थपिने कम्पनीले बताएको छ।