मारूती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठीसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
ठगी एवं आपराधिक विश्वासघात गरेको कसुरमा नन्दकिशोर राठीसहित ६ जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ अनुमति लिएको एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
सप्तरीको राजविराज नगरपालिका-४ का दिवाकर साह उनीहरूविरूद्ध प्रहरीमा जाहेरी दिएका हुन्। उनी पत्रकार समेत हुन्। गत चैतमा घर बनाउँदा मारूती सिमेन्ट प्रयोग गरेको तर ढलान नै भत्किएको भन्दै साहले उनीहरूविरूद्ध जाहेरी दिएका हुन्।
‘उहाँले मारूती सिमेन्ट प्रयोग गर्नुभएको रहेछ। तर ढलान नै खसेको भनेर उहाँले जाहेरी दिनुभएको थियो,’ कार्कीले भने।
मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुज, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह र अजयकुमार साहविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
प्रहरीले एक जनालाई भने पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा बिजनेस डाइरेक्टर ज्योति शर्मा भने पक्राउ परेका छन्। उनीहरूविरूद्ध असार ११ गते नै पुर्जी जारी भएको थियो।