वीरगञ्ज सुख्खा बन्दरगाहमा आज (आइतबार) पहिलो पटक 'डस्टी कार्गो' भित्रिएको छ।
गोदावारी कमोडिटिजको ३६ सय मेट्रिक टन कोइला लिएर आएको भारतीय रेल आइतबार वीरगञ्ज सुख्खा बन्दरगाहमा आएको हो।
२०७९ पुस २४ गतेदेखि नै 'डस्टी कार्गो' नेपाल आउन सुरू गरेको भएता पनि यस अघि भारतको रक्सौलसम्म रेलमा ल्याई त्यहाबाट ट्रकमा राखी वीरगञ्ज एकीकृत जाँच चौकी (आइसिपी) बाट मात्र डस्टी कार्गो नेपाल आउने गरेको थियो।
यस अघि वीरगञ्ज सुख्खा बन्दरगाहमा डस्टी कार्गो व्यवस्थानको लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा डस्टी कार्गो भारतको रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा नेपाल ल्याउनु पर्ने बाध्यता रहेको थियो।
हाल वीरगञ्ज सुख्खा बन्दरगाहमा मानव स्वास्थ्यमा असर नपर्ने गरी ६ नं. रेल्वे ट्र्याकमा 'डस्टी कार्गो' व्यवस्थानको लागि आवश्यक भौतिक पूर्वाधार (डस्टी कार्गो झार्ने र राख्ने ठाउँ) को व्यवस्था गरिएको छ।
यससँगै 'डस्टी कार्गो' भारतको रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा नेपाल ल्याउनुपर्ने बाध्यता हटेको छ। डस्टी कार्गो अन्तर्गत क्लिंकर, सिमेन्ट, कोइला, डन्डी, सिआर सिट, मलखाद, नुनलगायत वस्तुहरू नेपालमा आयात गरिन्छ।
'डस्टी कार्गो' भारतको रक्सौलमा झारेर पुनः नेपाल ल्याउँदा झन्झटिलो हुनाको साथै खर्च समेत बढी लाग्ने गरेको थियो अब रेलबाट सिधै वीरगञ्ज सुख्खा बन्गरगाहसम्म डस्टी कार्गो ल्याउन सकिन्छ ।
जसबाट व्यवसायीहरुले अहिले व्यहोर्नु परिरेहेको झन्झट तथा अतिरिक्त लागतमा कमी हुने देखिन्छ।