इ–सेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इ–सेवा खातामा रहेको रकम एटिएम मेसिनमार्फत पनि झिक्न सक्ने भएका छन्।
इ–सेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा इ–सेवाको खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो।
इ–सेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन। इ–सेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटिपिमार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्ने बताइएको छ।
यसअघि इ–सेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो। तर अबदेखि एटिएममार्फत् पनि रकम झिक्न सकिने भएपछि इ–सेवा प्रयोगकर्तालाई झनै सहज हुनेछ।
यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरूवात गरिएको कम्पनीको दाबी छ।
इ–सेवामा रहेको रकम एटिएममार्फत पनि झिक्न सकिने सेवाबारे इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने 'इ–सेवा प्रयोगकर्तालाई इ–सेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उद्देश्यले हामीले एभरेष्ट बैंकसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरूवात गरेका हौँ।'
'हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौँ। तर कहिलेकाहीँ इ–सेवामा रहेको रकम क्यासमा नै चाहिए पनि प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले हामीले यो सेवाको सुरूवात गरेका हौँ।' उनले थपे।
खड्काले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा आफूहरू निरन्तर लागिरहेको र लागि नै रहने बताए।
कार्यक्रममा एभरेष्ट बैंकका डेपुटी सिइओ विजय कुमार शर्माले भने 'एभरेष्ट बैंक जहिलेपनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर छ। यसै क्रममा इ–सेवा जस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौँ।'
उनले थपे 'इ–सेवाका प्रयोगकर्ताले एभरेष्ट बैंकका देशभर रहेका कुनैपनि एटिएम मेसिनमार्फत सहजै रकम झिक्न सक्नुहुनेछ। हामी यो आशा गर्दछौँ की यसले नेपालभर रहेका इ–सेवाका लाखौँ प्रयोगकर्तालाई धेरै सहज बनाउनेछ।'