फोन पेले प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा 'डिजिटल साक्षरता कार्यक्रम' सम्पन्न गरेको छ।
डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न विभिन्न नवीनतम तरिकाहरूका साथ अगाडि बढ्दै आएको फोन पेले उक्त कार्यक्रम सम्पन्न गरेको हो।
फोन पेले विभिन्न क्षेत्र एवम् समुदायहरूमा डिजिटल पेमेन्ट सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएको छ।
सुरक्षित एवम् सहज तरिकाबाट रकम स्थानान्तरण गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवं अन्य सुरक्षाको उपायहरू अबलम्बन गर्न जिरीमा यो साक्षरता कार्यक्रमको आयोजना गरिएको हो।
उक्त साक्षरता कार्यक्रमको उद्धाटन समारोहमा जिरी नगर प्रमुख मित्र बहादुर जिरेल, उप प्रमुख कृष्णमाया बुढाथोकी, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल राष्ट्र बैंकका डाइरेक्टर कृष्णराम धोजू लगायतको सहभागिता रहेको थियो।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंक कारोबार मार्फत् तुरुन्तै रकम पठाउन सकिने फोनपेका चिफ विजिनेस अफिसर सुमित दासले बताए।
त्यस्तै, प्राइम कमर्सियल बैंकको मोबाइल बैंकिङ एपमा भएको क्युआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाहरुको प्रयोग गरेर रकम स्थानान्तरण तथा विभिन्न सेवा तथा वस्तु प्रदायकहरुमा भुक्तानी गर्न सकिने प्राइम कमर्सियल बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठले बताए।