काठमाडौंको धार्मिक पर्यटकीय क्षेत्र बौद्धनाथ स्तुप अघिल्तिर एउटा रेस्टुरेन्ट छ।
जहाँ बिहानैदेखि खानासँगै तस्बिर खिच्न आउनेहरूको घुइँचो लाग्ने गर्छ।
थ्रिडी आर्टले भरिपूर्ण उक्त रेन्टुरेन्टमा लाइभ गीत गाउने, भूतको काखमा बसेर खाना खाने तथा विभिन्न भाषा धर्म संस्कृति अनि नेपालका सम्पदाहरूलाई समेटेको पाइन्छ। यहाँ नेपाली खानाबाहेक संसारभरका स्वाद चाख्न पाइन्छ।
पहिला यो एउटा गेष्ट हाउस थियो तर पछि निमा शेर्पाले यसलाई थ्रिडी रेष्टुरेन्टको रूपमा सञ्चालनमा ल्याए। थ्रिडी रेष्टुरेन्ट बनाउने सोच कसरी आयो त? यसको जवाफमा उनी भन्छन्,‘स्पेसमा टुरिजमको सम्भावना र विकासबारे समाचारहरू सुनेपछि यो रेस्टुरेन्टमा बनाउने योजना फुर्यो।’
उनका अनुसार यहाँ नेपालका धर्म संस्कृति, परम्परादेखि अन्तरीक्षसम्मको अनुभव गर्न पाइन्छ।
करिब २ करोड लगानीमा रेस्टुरेन्टको काम सक्ने योजना शेर्पाको छ। उनले थ्रिडी पेन्टिङमा मात्र ३५ देखि ४० लाख खर्च गर्ने बताए।
अहिले पनि रेस्टुरेन्ट निर्माणकै क्रममा छ। तर ग्राहकको भीडले थामिनसक्नु भएपछि पेन्टिङको काम केही समयका लागि स्थगित गरिएको शेर्पा बताउँछन्।
रेस्टुरेन्टमा काम सक्न अझै ६ महिना लाग्ने उनी बताउँछन्।
हेरौं केही कलात्मक थ्रिडी चित्रहरू: