कपिलवस्तुको बालाजी सिमेन्ट इन्डस्ट्रिजले आज (आइतबार) देखि भारतमा सिमेन्ट निर्यात सुरू गरेको छ ।
कम्पनीले उत्पादन गरेको 'बाहुबली' र 'श्रृष्टि' ब्रान्डका पिपिसी सिमेन्ट भारत निर्यात सुरू गरेको हो।
कम्पनीबाट उत्पादित बहुबली र श्रृष्टि ब्राण्डका पिपिसि सिमेन्टलाई भारत सरकार गुणस्तर विभागले ब्युरो अफ इण्डियन स्ट्याण्डर्स (बिआइएस) प्रदान गरेसँगै भारत निर्यात सुरू गरेको बताइएको छ।
पहिलो चरणमा भारत उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई आइतबार कम्पनीले ४२ टन सिमेन्ट निर्यात गरेको हो।
आइतबार २ वटा ट्रकमा प्रति ट्रक २१ टनका दरले सिमेन्ट भारत निर्यात गरिएको हो। कपिलवस्तुको कृष्णनगर नाका हुँदै उक्त सिमेन्ट निर्यात गरिएको बताइएको छ।
विस्तारै निर्यात परिमाण वढाउँदै लैजाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको छ।
भारतमा आइएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था रहेको छ भने नेपालबाट पनि एनएस चिन्ह नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन।
नेपाल सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले सिमेन्ट उद्योगीहरूलाई धेरै राहत भएको कम्पनीको भनाइ छ।
वर्तमान असहज एवं आर्थिक मन्दीको अवस्थामा भारतमा सिमेन्ट निर्यातले सकारात्मक सन्देश दिएको उद्योगका संस्थापक सन्दिप कुमार गाडिया बताउँछन्।
'हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने हो। उक्त लक्ष्य पूरा गर्न हामी सफल भएका छौं।' उनले भने 'सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको छ।'
राज्यले अझै उद्योगमैत्री, निर्यातमैत्री नीतिहरू ल्याउनु जरुरी रहेको गाडियाको भनाइ छ।
बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ।
उद्योगले बहुबली र श्रृष्टि ब्राण्डका ओपिसी ४३ ग्रेड र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। दुबै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्युरो अफ इण्डियन स्ट्याण्डर्स (बिआइएस) प्रदान गरेको छ।