आलु र प्याजको आयात निर्यात तथा थोक विक्रेता संघले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित र अव्यहारिक भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संघले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री प्रकाशशरण महतले आत्मघाती कदम बताएका हुन्।
संघका अध्यक्ष मोहन बानियाँले आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा यस्ता वस्तु एक तिहाईका दरले महँगिने बताए।
आयातको तथ्यांक हेरेर भ्याट लगाउने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको उनको भनाइ छ।
'यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न सक्दैनन् र उपभोक्ताले पनि किन्न सक्दैनन्,' उनले भने।
अध्यक्ष बानियाँका अनुसार यसको सोझो असर व्यापारी, उपभोक्ता हुँदै हरेक नेपालीको भान्सामा पर्नेछ।
सरकारको नीतिपछि भन्सार नाकामा आएको वस्तु भन्सार पास गर्न पनि नसकेको समेत उनले बताए।
आलु र प्याज जस्तो नाशवान वस्तुमा अध्ययन बिनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ।
कर लगाउँदा व्यवसायमा के असर पर्दछ भनी अध्ययन नगरी हचुवाको निर्णय लिँदा वर्षौदेखि व्यवसाय गरिरहेकाहरू व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको बानियाँले बताए।
अध्यक्ष बानियाँले भ्याटको निर्णयबाट पछाडि फर्कन पनि अर्थमन्त्रीलाई आग्रह गरे।
दैनिक उपभोग्य वस्तु आलु र प्याजमा सरकारले अनावश्यक बखेडा झिकेर बजार बिगारेको संघका महासचिव प्रकाश गजुरेलले आरोप लगाए।
नियमित र व्यवस्थित कारोबार गरिरहेका व्यवसायीलाई हतोत्साहित बनाएर अनौपचारिक कारोबारलाई राज्यले प्रोत्साहन गरेको उनको भनाइ छ।
'हाल आलु र प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएका छौं,' उनले भने, 'यस्तो अवस्थामा थप १३ प्रतिशत भ्याट बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु हो। उपभोक्तालाई थप करको भार थप्नु उपभोक्तालाई अन्याय गर्नु ठहर्छ।'
संघका अनुसार सरकारले आर्थिक विधेयक २०८० मार्फत आलु प्याज लगायतका कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने व्यवस्था हटाएसँगै आलु र प्याजको व्यवसाय गर्नेहरू भ्याटको दायरामा आएका छन्।
चालु आर्थिक वर्षको वैशाखसम्म नेपालमा ६ अर्ब ९८ करोडको आलु आयात भएको छ। यसबाट राज्यले ७१ करोड ७४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ।
यस्तै, ५ अर्ब ७० करोडको प्याज आयात हुँदा ५७ करोड रुपैयाँ राजस्व उठेको छ।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसुची १ को समूह क (आधारभूत कृषि उत्पादनहरू) अन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने वस्तु तथा सेवाहरुको सूचीमा आलु तथा प्याज रहँदै आएकोमा आर्थिक ऐन, २०८० बाट ऐन संशोधन गर्दै भ्याट छुट दिइएको वस्तुको सूचीबाट आलु र प्याज हटाइएको हो।