मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) लागू भएपछि फोनको मूल्य बढ्छ भन्ने दुष्प्रचारमा विश्वास नगर्न व्यवसायीले आग्रह गरेका छन्।
मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र नेपाल मोबाइल वितरकले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले यस्तो बताएका हुन्।
उनले एमडिएमएस लागू भएपछि व्यापारीले फोनको मूल्य बढाउँछन् भन्ने भ्रम बजारमा फैलिएको भए पनि त्यसलाई विश्वास नगर्न आग्रह गरे।
उनका अनुसार मोबाइल फोन उत्पादक कम्पनीले सन्सारभरी फोनको मूल्य र व्यापारीको मार्जिन आफैँ निर्धारण गर्ने हुँदा यो सिस्टम लागू भएपछि मोबाइल फोनको मूल्य बढ्दैन।
'लामो समयको पहलपछि गत जेठ १ गतेदेखि यो प्रणाली लागू भएको छ। यसले चोरी पैठारीका मोबाइल फोन किनबेचलाइ निरुत्साहित गर्ने छ। साथै मोबाइल फोन ट्र्याक गर्न सहज हुने हुँदा प्रहरी अनुसन्धानमा पनि सहयोग पुग्नेछ,' मल्होत्राले भने।
सरकारले गत जेठ १ गतेदेखि एमडिएमएस लागू गरेको छ। यो प्रणाली लागु भएसँगै अवैध फोनको किनबेच निरुत्साहित हुने विश्वास गरिएको छ।
भन्सार असुलीको लागि मात्र नभइ सुरक्षाको लागि पनि एमडिएमएस लागू हुनु आवश्यक रहेको भन्सार विभागका निर्देशक पुन्य विक्रम खड्काले बताए।
हाल नेपालमा मात्र वार्षिक ५० अर्ब रुपैयाँ बराबरको वैधानिक रूपमा कर तिरेर मोबाइल फोन आयात हुने गरेको छ।
तर, १५ अर्बको हाराहारीमा भन्सार नतिरेका फोनहरू अनधिकृत तरिकाले भित्रिने गरेका छन्। भन्सार नतिरी भित्रिने फोनको कारण सरकारले वार्षिक तीनदेखि चार अर्ब रुपैयाँ बराबर राजस्व गुमाउँदै आएको छ।
हाल मोबाइल फोनको कारोबारबाट मात्र सरकारले विभिन्न शीर्षकमा आठ अर्बभन्दा बढी राजस्व संकलन गर्दै आएको छ।
त्यस्तै, नेपालमा हाल प्रत्यक्ष र अप्रत्यक्षरुपमा ५० हजार बढी नेपालीले मोबाइल फोनको व्यवसायबाट रोजगारी प्राप्त गर्दै आएका छन्। मोबाइल फोन प्रयोग गरी अनलाइन तथा मोबाइल फोनको सम्पर्क नम्बरबाट आफ्नो व्यापार प्रवर्द्धन गर्दै लाखौं नेपालीले आफ्नो पेशा चलाउँदै आएका छन्।
अनधिकृत तरिकाले भित्रिने मोबाइल फोनको कारण उपभोक्ताले वैधानिक र अनधिकृत छुट्याउन नसक्दा त्यस्ता फोनहरूको पनि वैधानिक सरह मूल्य तिर्दै आएका छन्।
यसरी भित्रिएका मोबाइलको बिक्रीपछि पार्टपूर्जा नपाउने जस्ता समस्याबाट समेत उपभोक्ता ठगिदै आएका छन्। यस्ता मोबाइलको कारण नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा समेत समस्या हुने गरेको छ।
सरकारले यीनै समस्या समाधानको लागि एमडिएमएस सिस्टम लागू गरेको हो। यो प्रणालीमा दर्ता नभएका फोनहरू नचल्ने भएको छ। सरकारले विदेशबाट नेपाल आउनेहरूका लागि दुईवटा फोन निःशुल्क एमडिएमएसमा दर्ता गर्न सक्ने व्यवस्था गरेको छ।