स्थपनाको २२ वर्ष पूरा गरी २३औं वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ।
'निरन्तर सहयात्रा विश्वासको' भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट सुरू भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो।
डिजिटल रेमिटेन्सको प्रवर्द्धन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोगसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको कम्पनीको भनाइ छ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेम राज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरीमा 'सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य', 'रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका चार सयभन्दा बढी कर्मचारीहरूको सभागिता रहेको थियो।
प्रभातफेरीमा चर्चित कलाकार तथा आइएमईका ब्राण्ड एम्बेसडर दिपकाराज गिरी र दिपाश्री निरौला पनि सहभागी थिए।
प्रभातफेरीको उद्घाटन गर्दै अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने कम्पनी बनाउन महत्वपूर्ण योगदान गर्ने सम्पूर्ण सेवाग्राहीहरू, नियामक निकायहरू तथा कर्मचारीहरूलाई कृतज्ञता व्यक्त गरे।
हरेक वर्ष जेठ २९ गते आइएमईले आफ्नो स्थापना दिवसको अवसरमा सचेतना मुलक प्रभातफेरी आयोजना गर्दै आएको छ।