चिया सागरले काठमाडौंको महाराजगन्जस्थित श्रीकान्ति मार्गमा नयाँ शाखा खोलेको छ।
सोमबार एक समारोहबिच नायक सलोन बस्नेत र मोडल याङ्शु श्रेष्ठले संयुक्त रूपमा चिया सागरको नयाँ शाखा उद्घाटन गरेका हुन्। यसका लागि केशव शर्मा, प्रकाश पौडेल र नवीन शर्माले ८० लाख रुपैयाँ खर्चिएका छन्।
चिया सागरमा ५५ प्रकारका चिया पाइन्छ। विशेषगरि चिया सागरको मेनुमा मट्का, मसला, आइस टि, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट टी उपलब्ध छन्।
चियाका पारखीहरूलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ३० देखि तीन सय रुपैयाँ कप सम्मका चिया पिउन पाइन्छ। चिया, कफी बाहेक यहाँ बेकरी आइटम पनि राखिएको छ। चिया सागर बिहान साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म खुला हुन्छ।
चिया सागरका सञ्चालक केशव शर्माका अनुसार बानेश्वरमा खोलिएको चिया सागरको पहिलो पसलका ग्राहकहरूको सुझाव सल्लाह र अनुरोधमा महाराजगन्जमा नयाँ पसल खोलिएको हो। स्थानीय क्षेत्रका चिया पारखीहरूको समेत विशेष चासो र आग्रहमा सो क्षेत्र रोजिएको उनले बताए।
‘नेपालीहरूमा संस्कृतिको रूपमा विकास भइसकेको आदत र शैली ‘चिया पिऊँ’ को संस्कारलाई थप परिमार्जन गरेर आधुनिक शैलीमा चिया पस्किने थलो हो, चिया सागर', उनले भने, 'यहाँ एक प्रकारको शान्त, रमाइलो वातावरणसहित चिया पारखीहरूलाई चिया खुवाउने हाम्रो उद्देश्य हो।’
यहाँको सजावटमा आधुनिकसँगै नेपाली मौलिक वस्तुले पनि स्थान पाएका छन्।
चिया सागरमा डालो उल्टो झुन्ड्याएर बत्ती बालेको देखिन्छ। भित्र सिलिङ र भित्ताहरूमा नाङ्लो टाँसिएको देख्न सकिन्छ। दुई सयभन्दा धेरै नाङ्लो र डोकोले चिया सागरलाई निकै नै आकर्षक बनाइएको छ।