भारत सरकारले नेपालाई तीन लाख मेट्रिक टन गहुँ दिने भएको छ।
नेपाल सरकारले माग गरेकाले भारतीय सरकारले नेपाललाई सो परिमाणको गहुँ दिने भएको हो।
भारतीय सञ्चार लाइभमिन्टले यो वर्ष नेपाल, इन्डोनेसिया, सेनेगल र गाम्भियालाई गरी कुल करिब १० लाख ५० हजार मेट्रिक टन खाद्यान्न (गहुँ र कनिका) निर्यात गर्न दिने संभावना भएको उल्लेख गरेको छ।
लाइभमिन्टकाअनुसार इन्डोनेसीया, सेनेगल र गाम्भियालाई कनिका निर्यात गर्न दिने भएको हो।
भारत सरकारले खाद्यान्न उत्पादनमा कमी आएको बताउँदै एक वर्ष अघिदेखि नै निर्यातमा रोक लगाएको थियो।
गहुँ निर्यातमा भारतले प्रतिबन्ध लगाउँदा नेपाली उद्योग डुब्ने बताउँदै यहाँका उद्योगी व्यवसायीले सरकारलाई गहुँ माग गरिदिन अनुरोध गरेका थिए।
सोहीअुनसार नेपाल सरकारले भारत सरकारसँग गत वर्ष पनि ५० हजार मेट्रिक टन गहुँ माग गरेको थियो।
यो वर्षका लागि पनि नेपालले भारत सरकारसँग केही महिनाअघि नै तीन लाख टन गहुँ दिन माग गरेको थियो।