ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि पनि विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको छ।
केही समय अघि क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको थियो। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो।
म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो।
यसअघि सन् २०२२ का लागि 'एलओडी' सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो।
यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९औं स्थानमा पर्न सफल भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले जानकारी दिए।
क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भएको उनले बताए।
उनका अनुसार क्याम्पियनमा पाँच सय क्लब सहभागी भएका थिए।
गएराति डिजे विश्वका उत्कृष्ट क्लबहरूको श्रेणी स्थान सार्वजनिक गरिएको हो।
विश्वका सय वटा उत्कृष्ट सय क्लबको सयौँभित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने उनको भनाइ छ।
'एलओडी क्लब डिजे म्यागको टप सयमा पर्नु भनेको नेपालको पनि शान हो,' कुँवरले भने, 'टप सयभित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ। क्लबलाई थप आकर्षक बनाएर लैजानलाई प्रेरणा प्राप्त भएको छ।'
एलओडी उत्कृष्ट क्लबको सूचीमा पर्दा विश्वरभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको विश्वास छ।
क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग रहेको उनले बताए। रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने कुँवरको भनाइ छ।
क्लब चार वर्षअघि स्थापना भएको हो। क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ। एकसाथ २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता छ। क्लबमा करिब डेढ सय कर्मचारी कार्यरत छन्।