आइएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता सम्पन्न भएको छ।
यी दुईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाअन्र्तगत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरूबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको हो।
सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका हुन्।
सो सम्झौताको कार्यान्वयनपछि विदेशस्थित आइएमई काउण्टर तथा साझेदारहरूमार्फत वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदान बापतको रकम कोषमा जम्मा गर्न सक्नेछन्।
आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौं नेपालीहरूलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरी यो सम्झौता अनुसारको छिटै व्यवस्था मिलाइने जानकारी लिए।
कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए।
सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आइएमई तथा यसका साझेदारहरूको विश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेहरूलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गरे।
सम्झौता हस्ताक्षर समारोहमा कोषका निर्देशक रोशन कोजु र आइएमईका तर्फबाट बिजनेश डेभलपमेन्ट म्यानेजर श्यामकृष्ण खकुरेलको पनि उपस्थिती थियो।
यसअघि कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षा योजनाअन्र्तगत कम्तिमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम दुई हजार दुई मासिक रुपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो।