नेपाल चामल तेल दाल उद्योग संघले कच्चा दालको भन्सार दर एक प्रतिशतमा ल्याउन सरकारसँग माग गरेको छ।
उद्योगीहरूले तयारी दाल र कच्चा दालको भन्सार दर एकै भएकाले कच्चा दालको भन्सार दर घटाउन माग गरेका हुन्।
'कच्चा र तयारी दुवै दालको भन्सार दर १० प्रतिशत छ,' उद्योगका अध्यक्ष सुबोध कुमार गुप्ताले भने, 'यो अवस्थामा आयातिसँग हामी प्रतिष्पर्धा गर्न सक्दैनौं। यसलाई बजेटमै सम्बोधन गर्नु पर्यो।'
कच्चा दाल/गेडागुडीको आयातमा एक प्रतिशत र तयारी दाल आयातमा १० प्रतिशत भन्सार दर हुनुपर्ने उनको भनाइ छ।
कृषिलाई पूर्ण प्राथमिकतामा राखेर स्थापना भएका चामल, तेल, दाल जस्ता खाद्यान्न उद्योग स्पष्ट नीति नहुँदा धरासायी भएको उनले बताए।
उनका अनुसार स्वदेशी र आयातित कच्चा पदार्थ प्रयोग गरी करिब २५ वटा दाल उद्योग यहाँ सञ्चालन भइरहेका छन्। यहाँको मागलाई परिपूर्ति गर्न सक्ने क्षमता भएपनि हाल अनावश्यक रूपमा तयारी दालको आयात भइरहेको छ।
विगत तीन/चार वर्ष अघिदेखि नै बजेट भाषणमार्फत अर्थमन्त्रीले कच्चा र तयारी वस्तुमा भन्सार दर फरक गरिने भनिएता पनि हालसम्म कार्यान्वयन नभएको उद्योगका पूर्वध्यक्ष कुमुद दुगडले बताए।
'अन्य उद्योगले फरक भन्सार दर मार्फत संरक्षण पाइरहेका छन्। तर हामीले माग गर्दै आएको दुई तहको भन्सार दरको सुविधा हालसम्म पाउन सकेका छैनौं,' उनले भने।
कच्चा दाल आयात गरेर प्रशोधन गरी बिक्री गर्दा स्वदेशी उद्योगलाई प्रोत्साहन हुनुका साथै रोगजगारी सृजना भई सरकारलाई पनि राजस्व प्राप्त हुने उनको भनाइ छ।
उनले मुसुरो दाल निर्यातमा दिँदै आएको अनुदानलाई पनि निरन्तरता दिन आग्रह गरेका छन्।
'पहिले मुसुरो दाल निर्यातमा ७ प्रतिशत अनुदान दिइन्थ्यो। त्यो हटाइएको छ,' उनले भने, 'त्यसलाई पनि निरन्तरता दिनुपर्यो।'
दाल निर्यात गर्दा लाग्ने प्रतिकिलो एक रूपैयाँ निर्यात शुल्क पनि हटाउन व्यवसायीले माग गरेका छन्।