डिजिटल रेमिटेन्स कम्पनी इ–सेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिटेन्स बढाउन सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानको आइतबार अन्तिम दिन रहेको छ।
इ–सेवा मनी ट्रान्सफरले विदेशबाट वैधानिक रेमिटेन्सलाई प्रोत्साहन गर्ने उद्देश्यले 'मेरो डिजिटल देश' अभियान सार्वजनिक गरेको थियो।
कम्पनीले 'मेरो डिजिटल देश' अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इ–सेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो।
७ असोजदेखि जेठ ६ गतेसम्म रेमिटेन्स पठाउने व्यक्तिहरूमध्येबाट गोलाप्रथामार्फत केही दिनमा विजेता सार्वजनिक गर्ने कम्पनीले बताएको छ।
कम्पनीले अभियान अवधिभर हरेक महिना एक जनालाई आकर्षक उपहार दिँदै आएको थियो ।
विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्र्याउँदै आएको इ–सेवा मनी ट्रान्स्फरले 'मेरो डिजिटल देश' अभियानका विजेतालाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर प्रदान गर्नेछ।
अभियानका विषयमा इ–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिटेन्सको लागत कम गर्न डिजिटल रेमिटेन्समार्फत ‘मेरो डिजिटल देश’ अभियान सफलतापूर्वक सम्पन्न भएको बताए।
उनले भने 'हामीले जुन उद्देश्यले यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो। यस अभियानले डिजिटल रेमिटेन्सलाई बढाउन हामीलाई थप हौसला मिलेको छ।'
उनले थपे 'इ–सेवा मनी ट्रान्सफरले नेपालीहरूले नेपालमा रेमिटेन्स पठाउँदा लागत कम गर्न जुन अभियान सुरू गरेको थियो, यसमा हामी सफल भएका छौँ।'
इ–सेवा मनी ट्रान्स्फरले डिजिटल माध्यमबाट इ–सेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।
कम्पनीले सेवाग्राहीहरूलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इ–सेवाका एक लाख १२ हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।