आइएमइ इण्डियाले भारतको राजधानी नयाँ दिल्लीस्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ।
जेठ ४ गते आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा.शंकर प्रसाद शर्माले सो शाखा उद्घाटन गरेका हुन्।
आइएमई इण्डियाले नयाँ शाखामार्फत विदेशी मुद्रा सटही र आइडिएफसी बैंकसँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ।
शाखा उद्घाटन गर्दै राजदूत डा.शंकर प्रसाद शर्माले नयाँ शाखामार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरूलाई रेमिटेन्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिएको बताए।
सो अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए।
यसबाट भारतमा रहेका नेपालीहरूलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने पनि प्रबन्ध निर्देशक ढकालको भनाइ छ।
शाखा विस्तार समारोहमा दिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरू र आइएमइ ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल सहित आइएमइ इण्डियाको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापनका उच्च अधिकारी सहित सो क्षेत्रमा रहेका नेपालीहरूको समेत उपस्थिति थियो।