आरजु राइस मिलबाट उत्पादित चामल बजारमा आएको छ।
मिलले अहिले जिरा मसिनो र लङग्रेन चामल बजारमा ल्याएको मिलका सञ्चालक बुद्ध एयरका प्रमुख वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
'करिब तीन वर्षको मेहेनतपछि हामीले उत्पादन बजारमा ल्याएका छौं,' उनले भने, 'अहिले जिरा मसिनो र लङग्रेन चामल छ। आगामी दिनमा बासमती पनि ल्याउँछौं।'
आरजु राइस मिलबाट उत्पादित चामल बजार मूल्यभन्दा सस्तो रहेको उनको दाबी छ।
'लङग्रेन चामल बजारमा एक सय ६० देखि ७० छ। हामीले प्रतिकेजी ३० देखि ४० रूपैयाँ सस्तो दिएका छौं,' उनले भने।
उनका अनुसार दुवै चामल २० किलोको प्याकमा ग्राहकले किन्न पाउने छन्। जिरा मसिनो चामलको मूल्य प्रतिकिलो एक सय दश रूपैयाँ छ। त्यस्तै, लङग्रेन चामलको मूल्य एक सय ३० रूपैयाँ छ।
ग्राहकले कम्पनीद्वारा सञ्चालित पसलमा गए जिरा मसिनो ७५ रूपैयाँ किलो र लङग्रेन एक सय १० रूपैयाँमा पाउने उनी बताउँछन्।
'मार्केटिङका कारण बजामा त्यो मूल्य कायम भएको हो,' उनले भने, 'हाम्रो आफ्नो पसलमा गए सस्तो छ।'
कम्पनीले पेप्सिकोलामा पसल खोलेको छ। ग्राहकले मागअनुसार डेलिभरीको व्यवस्था पनि छ।
बस्नेतले तीन वर्षअघि मोरङको बेलबारीमा ५० करोड लगानीमा धानमिल सुरू गरेका हुन्।
छोरी आरजु बस्नेतको नाममा मिल खोलिएको हो।
भारतबाट सस्तोमा चामल आयात हुँदा नेपाली किसान मर्कामा परेको भन्दै सञ्चालक बस्नेतले चामलको आत्मनिर्भरताका लागि समयसापेक्ष प्रविधिको मिल सञ्चालन गरेको उनको भनाइ छ।
'हामी नेपाली किसानको मात्र धान किन्छौ, नत्र मिल चलाउँदैनौं,' बस्नेतले भने, 'निर्वाहमुखी कृषिलाई औद्योगिकरण गर्न यो हाम्रो २० वर्षको योजना हो।'
बस्नेतले धानखेती सुधारको लागि रोप्ने मेसिन, विकासे धानको बिउ किसानलाई दिने तथा सहकारीबाट कम मूल्यमा कृषि उपज दिने काम पनि गरिरहेको छन्।
'नेपालमा कृषि क्षेत्रको समस्याको चुरो किसानले धानको सही मूल्य नपाउनु रहेछ। यो देखेपछि धानमिल खोल्ने निर्णय गरेँ', बस्नेतले भने, 'नेपालको कृषिलाई औद्योगिकरण गर्न पनि किसानले धानको उचित मूल्य पाउनुपर्छ।'
उनले किसानले धान लगाउनु पूर्व नै धानको मूल्य तोकिदिएका छन्। उनका अनुसार चैते धानको मूल्य प्रतिमन नौ सय छ भने असारे धानको मूल्य प्रतिमन १२ सय छ।
नेपालकै सफल उड्डयन व्यवसायी बस्नेतले धान मिलमा धान कुट्ने र बेच्ने मात्र होइन नेपालमै पहिलोपटक कृषकबाट प्रत्यक्ष धान किन्ने र तुरून्त पैसा दिने समेत गरेका छन्।
'हालसम्म हामीले दुई सिजन गरी किसानलाई १० करोड रूपैयाँ दिइसकेका छौं,' उनले भने, 'अहिले आरजु राइस मिलमा चार हजार बिघाका हजारौं किसान आवद्ध भएका छन्।'
किसानबाट किनेको धान तुरून्त सुकाउन स्वचालित यन्त्रहरूबाट सुकाई भण्डार र व्यवस्थापन गर्ने, सफा गर्ने प्रविधि समेत मिलमा छ।
मिलबाट उत्पादन भएको चामल सीधै उपभोक्तालाई बेच्न देशभरका मुख्य शहरमा वितरण केन्द्र खुल्ने भएका छन्।
यो वर्ष मिल पूर्ण रूपले स्थापित भइसकेपछि आगामी ५ वर्षभित्र आत्मनिर्भरको बाटोमा राष्ट्रलाई डोर्याउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बस्नेतले दाबी गरे।