ठूलो लगानी सहित नयाँ चिनी उद्योग दर्ता भएको छ।
भएकै उद्योगले क्षमता अनुसार चिनी उत्पादन गर्न नसकेको गुनासो गरिरहेको बेला व्यवसायी सन्दीप गाडियाले नयाँ चिनी उद्योग सञ्चालन गर्ने तयारी गरेका हुन्।
उनले वैशाख पहिलो साता उद्योग विभागमा उद्योग दर्ता गराएका छन्।
वार्षिक ३७ हजार ८ सय मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमताको उद्योग सञ्चालनको लागि शिवशक्ति सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालि उद्योग दर्ता गराइएको छ।
पर्सा बहुदरमाई गाउँपालिकामा उद्योग स्थापना गर्ने तयारी गरिएको हो।
आठ करोड रुपैयाँ चालु र दुई अर्ब रूपैयाँ चुक्ता पुँजी गरी कुल २ अर्ब ८ करोड रुपैयाँ लगानी उद्योगमा हुने विवरणमा खुलाइएको छ।
उद्योगले ३७ हजार ८ सय मेट्रिक टन चिनीका साथै १८ हजार ९ सय मेट्रिक टन मोलासेस, ५४ हजार मेट्रिक टन बेगास्से र २ करोड ५२ लाख किलोवाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको विवरणमा उल्लेख छ।
सत प्रतिशत नेपाली लगानी रहने उद्योगमा दुई सय जनाले रोजगारी पाउनेछन्।