उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न बजेटमा विशेष व्यवस्था गरिने बताएका छन्।
उद्यमी घरको बृहत् मेला तथा प्रदर्शनी तथा उद्घाटन समारोहमा मन्त्री रिजालले स्वदेशी उत्पादनको प्रवर्द्धन बढाउने कार्यक्रम आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा राखिने बताए।
सरकारले १५ प्रतिशत महँगो पर्ने भएपनि सरकारी कार्यालयमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने नीति राखेपनि त्यो कार्यान्वयनमा नआएको मन्त्री रिजालको भनाइ छ।
यसलाई कार्यान्वयनमा ल्याउनेबारे मन्त्रीपरिषद्मा छलफल गरिने मन्त्री रिजालले बताए।
'म यसबारे अब हुने क्याबिनेटको मिटिङमा राख्छु,' मन्त्री रिजालले भने।
उद्यमीले उत्पादन गरेका सामानको बजारीकरणमा मन्त्रालयले पूर्ण सहयोग गर्ने मन्त्री रिजालको भनाइ छ।
उद्यमी घर सबै उद्यमीले उत्पादन गरेका सामान पाइने भएकाले उद्यमीहरूले उत्पादन गरेका सामान पाइने सुपर मार्केट भएको मन्त्री रिजालले बताए।
यो 'सुपर मार्केट,' मन्त्री रिजालले उद्यमी घरलाई लक्षित गर्दै भने, 'यहाँ उद्यमीले उत्पादन गरेका सबै प्रकारका सामान पाइन्छ।'
साना उद्यमीले उत्पादन गरेका सामानले बजार नपाउँदा स्थानीय तहले दिएको तालिम खेर गइरहेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए।
'उत्पादनलाई बजारीकरण गर्न सकिएन भने स्थानीय तहले दिएको तालिमको अर्थ हुँदैन,' मेयर महर्जनले भने।
बजारीकरणलाई सरकारले विशेष प्राथमिकतामा राखे रोजगारी बढ्नुका साथै राजस्वमा वृद्धि हुने उनको भनाइ छ।
नेपाली उत्पादनको प्रोत्साहन र उपयोगका लागि सरकारले नीतिगत व्यवस्था गर्नुका साथै कार्यान्वयनमा ल्याउनु पर्ने उद्यमी घरका सञ्चालक दीपक कार्कीले बताए।
कार्कीका अनुसार उद्यमी घरको प्रदर्शनी शनिबारसम्म चल्नेछ। सो समयमा उद्यमी घरको सामान खरिदमा १० प्रतिशत छुट समेत दिइएको छ।
साना उद्यमीले उत्पादन गरेका सबै प्रकारका सामग्री एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले उद्यमी घर निर्माण गरिएको नौ महिना भयो।
यहाँ ढाका, पश्मिना, सिस्नो, गाँजा (हेम्प), केरा, बाँसको रेसा र रेशम (सिल्क) बाट बनेका लुगा पाइन्छ।
सारी, कुर्तासुरूवाल, लेहेंगा, दौरासुरूवाल, कोट र जातीय–सांस्कृतिक वेशभूषाका तयारी लुगादेखि तन्ना र रूमालसम्म। पास्नी र बिहेका लागि खास किसिमका पोसाक पाइन्छन्।