नेपोभिट टायल्स्को पहिलो वार्षिक उत्सव समारोह सम्पन्न भएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा पूर्व महान्यायाधिवक्ता रमण प्रसाद श्रेष्ठ, महानायक राजेश हमाल र विभिन्न संघ संस्थाका अधिकारीहरूको उपस्थिति रहेको थियो।
कम्पनीको निर्देशक विभा झाले स्वागत मन्तव्य राख्दै सम्पूर्ण उपस्थित अतिथि तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई स्वागत गर्दै नेपोभिट टायल्सको एक वर्षको यात्रामा साथ दिने कर्मचारी, ग्राहक, शुभचिन्तक तथा सम्पूर्ण साझेदारहरूलाई धन्यवाद दिइन्।
द सोल्टी काठमाडौंमा आयोजित सो समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमको साथ मिडिया र ७०० भन्दा बढीको उपस्थितिमा नेपोभिट टायल्सले नयाँ टायल्सहरू पनि सार्वजनिक गरेको छ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपोभिट टाईल्सका प्रबन्ध निर्देशक मनोज रौनियारले नेपोभिट टायल्सलाई साथ सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे।
उनले नेपोभिट टायल्सको एक वर्षको चुनौती तथा सम्भावनाहरूको बारेमा जानकारी गराउँदै नेपोभिट टायल्स अझै बृहत र विस्तृत ढंगमा प्रस्तुत हुँदै चाँडै नै नयाँ डिजाइनका फ्लोर तथा वाल टायल्सहरू बजार भित्र्याउने जानकारी दिए।
समारोहमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपालमै पहिलो र एकमात्र टायल्स कम्पनी नेपोभिट टायल्सले गरेको काम सराहनीय भएको बताए।
मन्त्री रिजालले नेपोभिटले स्थानीयलाई तथा समग्र देशलाई नै गरेको योगदानको उच्च प्रशंसा गर्दै सरकारको तर्फबाट हरेक चरणमा नेपोभिटलाई साथ तथा सहयोग मिल्ने कुराको प्रतिवद्धता व्यक्त गरे।
त्यसैगरी नेपोभिट टायल्स्का अध्यक्ष शम्भु नाथ झाले नेपोभिट टायल्सले एक वर्षमा हासिल गरेको उपलब्धिहरूका बारेमा बोल्दै अब आगामी वर्षहरूमा निर्यातमा जोड दिने मुख्य उद्देश्य रहेको जानकारी गराए।
उनले नेपालमा सेरामिक क्षेत्रको प्रचुर सम्भावनाहरूलाई उपयोग गर्दै टायल्स मात्र नभई विभिन्न सेरामिक वस्तुहरू उत्पादन गरी देशमा अझै रोजगारीको सिर्जना गर्न र विदेशी मुद्रा भित्र्उन नेपोभिट टायल्स प्रतिवद्ध जनाए।