२५ करोड रूपैयाँभन्दा बढीको लगानीमा कपिलवस्तुमा आधुनिक चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनमा ल्याइएको छ।
बुद्धभूमि नगरपालिका–१० करिब डेढ बिघा क्षेत्रफलमा चिस्यान केन्द्र सञ्चलानमा ल्याइएको हो।
युवा व्यवसायी आशिष शर्माले २५ सय टन क्षमताको आधुनिक प्रविधियुक्त 'मोडिफाइड एटमोसफियर' कोल्ड स्टोरेज सञ्चालनमा ल्याएको बताए।
'यो कोल्ड स्टोरेजमा तापक्रम, आद्रता, अक्सिजन, कार्बनडाइअक्साइड र एथेलिन व्यवस्थापनको क्षमता रहेकाले नेपालकै आधुनिक कोल्ड स्टोरेज हो,' शर्माको दाबी छ।
यहाँ आठ वटा चेम्बर (कोठा) छन्। यी कोठालाई तरकारी, कृषिउपज र फ्रोजन गरिने (स्विट कोर्न, मटर कोसा र फिंगर चिप्स) को उपभोग्य अवधि बढाउन मिल्ने गरी तयार पारिएको उनले बताए। ती सामग्री व्यवस्थापन गर्न स्वचालित मेसिनद्वारा फ्रोजन चेम्बरको प्रविधिसहित शून्य डिग्रीदेखि माइनस २५ डिग्रीसम्मको तापक्रम व्यवस्थापन गरिएको उनले बताए।
स्टोरेजमा अदुवा, लसुन, प्याज, गोलभेंडा, गाँजर र अंगुर जस्ता चाँडै बिग्रिने तरकारी र फलफूल भण्डार गर्न सकिनेछ। स्टोरेजमा ६ सय टन मुस्ताङ र काभ्रेको पाँचखाल आलु भण्डारण गर्न सकिने क्षमता छ।
'अहिले स्टोरेजमा १४ सय टन आलु, एक सय १५ टन गाँजरसँगै प्याज, बन्दा, अंगुर र फ्रोजन खाद्यान्नहरू भण्डारण गरिएको छ,' शर्माले जानकारी दिए।
स्थानीयस्तरमा उत्पादन हुने तरकारी भण्डारण अभावमा कम मूल्यमा बेच्नुपर्ने र भारतबाट आयातित तरकारीसमेत चिस्यान व्यवस्थापन नहुँदा २० प्रतिशत बिग्रिने समस्या देखेपछि आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा ल्याएको शर्मा बताउँछन्।
स्टोरेज खोल्नुअघि यस विषयमा अध्ययन गर्न आफू भारतका विभिन्न स्थानका ४५ वटा कोल्ड स्टोरेजमा पुगेको उनले बताए।
स्टोरेज पूर्ण क्षमतामा सञ्चालनमा आउँदा करिब ८० जना श्रमिकले प्रत्यक्ष रोजगारी पाउनुका साथै किसानको उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने समस्या समाधान हुने उनको भनाइ छ।