मौलाकाली केवलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ।
नवलपुर जिल्लाको गैँडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो।
केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।
आइएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरू गरिएको थियो।
गैँडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन्।
केवलकारमार्फत् बटम स्टेसनबाट टप स्टेसनसम्म पुग्न करिब ५ मिनेटको समय लाग्छ।
केबुलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरूलाई सहज हुने कम्पनीले बताएको छ।
केवलकारको माथिल्लो स्टेसनमा सुविधा सम्पन्न ६० रुमको होटल, ब्यांक्वेट हल र रेस्टुरेन्ट सञ्चालनमा रहनेछन्।
केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केवलकारले जनाएको छ।
नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने बताइएको उक्त परियोजनामा २ अर्बभन्दा बढी लगानी रहेको छ।
आइएमई ग्रुपको मुख्य लगानीमा काठमाडौंको चन्द्रागिरीमा केवलकार निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ।
त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रालिद्वारा प्रवर्द्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ।
उक्त केवलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन्।