बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद काठमाडौंमा सम्पन्न भएको छ।
एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद दुवै कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।
शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ छैटौं संस्करणको उपाधि सञ्जय पौडेलले जितेका छन्। उनले सुनको बल पुरस्कार पाए।
त्यस्तै टासी छिरिङले बेष्ट ग्रसको उपाधि जिते। टासीले मोष्ट बर्डीको उपाधि पनि जितेका छन्।
पुरुषतर्फ बाबु शेर्पाले दोस्रो स्थान हासिल गरे।
प्रतियोगितामा डा. भगवान कोइरालाले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते।
महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन्। कश्मिरा शाह दोस्रो भइन्।
क्लोजेस्ट टु द पिनको उपाधि राज प्रधानले जिते। लंगेस्ट ड्राइभको उपाधि दोर्जे होजाङसाङले जिते।
प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, पोखरा, बुटवल, नेपालगन्ज र केही विदेशीसहित ११४ ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा ७ महिला र १०७ पुरूष गल्फरले प्रतिस्पर्धा गरेका थिए।
विजेता गल्फरलाई प्रधानसेनापति प्रभुराम शर्मा, गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध सम्पादक ज्ञानेश्वर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।
गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।
‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम गर्न बाह्रखरीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरेको गरेको थियो।
त्यसैगरी, ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बीएमडब्लू, प्रभु बैंक र फलानो लुगा प्रायोजक थिए।
आर्थिक परिसंवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजनीतिमा विचार, सिद्धान्त, मूल्य र मान्यताको विषय हराउँदै गएको बताएका थिए। उपभोक्तावाद र तत्काल नाफा–नोक्सानतिर अघि बढ्दा राष्ट्र र आम जनताको हित प्राथमिकतामा नपरेको उनले बताए।
उनले जनता र समाजको हितभन्दा तत्कालीन विषय र नाफा–नोक्सान प्राथमिकतामा परेको उल्लेख गरे।
उनले नेपालको मौलिकतामा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै विदेशी राम्रो, नेपाली नराम्रो भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले जनअपेक्षाअनुरूप अर्थतन्त्र सुधार गर्नु अहिलेको प्राथमिकता र मुख्य एजेन्डा भएको बताए।
उनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिनामा आफ्नो अरू एजेन्डा नभएको बताए। उनले आफू जवाफदेही भएर अहिले देखिएको समस्या समाधान गर्न कडा मिहिनेत गरिरहेको उल्लेख गरे।
साधनस्रोतका आधारमा बजेट बनाइने उल्लेख गर्दै उनले मन्त्रालयसँग अपेक्षा धेरै देखिएको तर राजस्व कम उठेको उनले बताए। दातृ निकायहरूसँग अनावश्यक रकम लिन आवश्यक नभएको उनको भनाइ थियो। उनले राज्यको प्राथमिकतामा नपरेका विषयमा अनुदान र ऋण लिन उचित नभएको उल्लेख गरे।
दाताहरूसँग प्रभावकारी संवाद हुनुपर्ने भन्दै यनले प्राथमिकता निर्धारण गरेर मात्र बाह्य सहयोग लिनुपर्ने धारणा राखे।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको बताएका छन्। मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्नेमा जोड दिए।
अर्थविद् अच्युत वाग्लेले कार्यक्रममा मुख्य कार्यपत्र प्रस्तुत गर्दै नागरिकले कर तिर्ने वातावरण नभएको बताए। कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले ऋणमा सबैको पहुँच नभएको उल्लेख गरे।
देशमा सीमित सर्वसाधारणले मात्र कर तिर्ने गरेको बताए। देशमा कर तिर्ने वातावरण नभएको र जनताले कर तिर्न पनि समस्या भएको जिकिर उनले गरे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वमै निजी क्षेत्रले राज्यलाई योगदान दिएको भन्दै सरकार र केन्द्रीय बैंकले ब्याजदर घटाउनुपर्नेमा जोड दिए। उनले खराब कर्जा असार मसान्तसम्म अझ बढ्ने बताए। अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने उनले उल्लेख गरे।
नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले ब्याजको लागत घटाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन्। बैंकहरूले धेरै नाफा नकमाएको जिकिर गर्दै उनले समयमै पुँजीगत खर्च गर्नुपर्ने भन्दै कर्जा बढ्दा समस्या परेको बताए।
नेपाल उद्योग परिसंघ (सिएनआई) का उपाध्यक्ष राजेश अग्रवालले पछिल्ल्लो समय उद्योगी–व्यवसायी निराश रहेको बताएका छन्। नीति तथा कानुन उद्योगीलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने उनले बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ९० प्रतिशत साना तथा मझौला उद्योगको उत्पादन, प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। देशमा रहेका ९० प्रतिशत साना तथा मझौला उद्योगको उत्पादन, प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो।
त्रिभुवन विश्वविद्यालय अर्थतन्त्र विभागका प्रमुख प्रा. डा. शिवराज अधिकारीले अहिलेको संरचनाले आर्थिक परिवर्तन नहुने बताएका छन्। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले संरचनागत सुधार नभएसम्म आर्थिक विकास सम्भव नरहेको स्पष्ट पारे। यसका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने उनको भनाइ छ।
अर्थविज्ञ कल्पना खनालले सेवा क्षेत्रलाई डिजिटलाइजेसनमा जोड्न आवश्यक रहेको बताइन्। विश्वव्यापी रूपमा डिजिटलाइजेसन बढ्दै गएको भन्दै त्यसको फाइदा नेपालले लिनुपर्नेमा जोड दिइन्। सेवा क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ६० प्रतिशत योगदान गरेको भन्दै उनले त्यसलाई डिजिटलाइजेसनसँग जोड्न सके योगदान बढ्न सक्ने बताइन्।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ लका एलएलएम कार्यक्रम संयोजक शिवकुमार गिरीले नेपालमा वैदेशिक लगानीसम्बन्धी नीतिगत तहमै विभिन्न किसिमको समस्या रहेको बताए। दुई छिमेकीले कस्तो नीति बनाएका छन् भनेर विश्लेषण नगरी नेपालको नीति बनाइएको बताए।
बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले प्राज्ञिक र व्यापारिक क्षेत्रलाई जोड्न गल्फ र आर्थिक परिसंवाद एकैसाथ आयोजना गरिएको बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरू गरिएको प्रतियोगिता छैटौं वर्षमा प्रवेश गरेको जानकारी दिए।
बाह्रखरीका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले यो कार्यक्रम वार्षिक रूपमा गर्ने तयारी रहेको बताए।
कार्यक्रममा एक हजार बढीको सहभागिता थियो।