नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन्।
महासंघको निर्वाचित नयाँ कार्यसमितिबाट कोषाध्यक्ष छनोट गर्नुपर्नेमा केसी र उद्योगी प्रवलजंग पाण्डेले उम्मेदवारी दिएका थिए। ६७ जना मतदाताले मत हालेकामा केसीको पक्षमा ३८ र पाण्डेको पक्षमा २९ मत खसेको महासंघ निर्वाचन समितिले जनाएको छ।
केसीलाई अध्यक्ष चन्द्रप्रसाद ढकाल र पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थन थियो।
केसी चैत २९ गते भएको महासंघको निर्वाचनमा बराबरी मतका कारण आधा कार्यकालका लागि मात्र निर्वाचित भएका हुन्। सुर्खेतका व्यवसायी केसी २०७६ सालमा भवानी राणाको कार्यकालमा निर्विरोध कोषाध्यक्षमा निर्वाचित भएका थिए। तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएपछि उनी कोषाध्यक्ष बनेका थिए।