नेपाल चेम्बर अफ कमर्सले तयारी पोसाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ।
नेपाल तयारी पोसाक उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरूलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै तयारी पोसाक एवं गार्मेन्टबाट उत्पादित कपडाको अन्तर्राष्ट्रिय बजारीकरण एवं ब्रान्डिङका लागि चेम्बरले सहयोग गर्ने बताएको हो।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवर्द्धन एक मात्रै विकल्प भएको बताए।
'विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तर्राष्ट्रिय शाखामार्फत तयारी पोसाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ,' उनले भने।
चेम्बरले गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उद्योगी व्यवसायीका उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ थियो। अध्यक्ष मल्लले ९० को दशकमै नेपालबाट वार्षिक ११ अर्ब रूपैयाँ बराबरको तयारी पोसाक निर्यात हुने गरेको भन्दै अहिले मुस्किलले सात अर्बको निर्यात हुनु दुर्भाग्य भएको बताए।
नेपालका तयारी पोसाकको निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला अन्य सरकारी निकायसँग सहकार्य गरिने उनको भनाइ थियो। तयारी पोसाक उत्पादन गर्न साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।
नेपाल तयारी उद्योग पोसाक संघका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भए पनि सगरमाथामा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु दुर्भाग्य भएको बताए। चालु आर्थिक वर्षमा निर्यात १० अर्बको पुर्याउने लक्ष्य आफूहरूले लिएको अध्यक्ष पाण्डेको भनाइ छ।
नेपालमै उत्पादित वस्तु पछिल्लो समय गुणस्तरीय बन्दै गएको भए पनि यसबारे आम उपभोक्तालाई सचेतना जगाउन नसकिएको अध्यक्ष पाण्डेले बताए।