महिला उद्यमीका कथा
किसानले गाईवस्तु चराउन वनजंगल लैजाने कुरा सामान्य हो। मौरी चराउन लैजाने कुरा भने अनौठो लाग्न सक्छ।
ललितपुरकी सरिता भट्टराई (श्रेष्ठ) मौरी चराउन पहाडका विभिन्न जिल्लामा पुग्छिन्।
उनी मौरीका घार गाडीमा राखेर दाङ, सर्लाही, चितवन नवलपरासी लगायतका जिल्लामा पुर्याउँछिन्। फूल रहुन्जेल मौरी एकै ठाउँमा चराउँछिन्। फूल झर्न थालेपछि अर्को ठाउँमा लैजान्छिन्।
सरिता मौरीलाई एउटा जंगलमा बढीमा तीन महिना राख्छिन्। मौरीले टन्न रस चुस्न पाएपछि घार पनि महले छिट्टै भरिन्छ। चरनमै मह काढ्छिन्, बाल्टिनमा भर्छिन् र ट्रकमा राखेर ललितपुरको धापाखेल पठाउँछिन्।
सरिताका साथमा केही सहयोगी हुन्छन्। यसरी उनी प्रत्येक वर्ष असोजदेखि चैतसम्म मौरी चराउनमा व्यस्त रहन्छिन्।
वैशाखमा ललितपुरमा नास्पाती, तोरी, आरू लगायतका फूल फुल्न थाल्छन्। अनि सरिता मौरीका घार धापाखेलमा ल्याएर राख्छिन्।
उनले यसरी मौरी चराउन थालेको आठ वर्षभन्दा बढी भयो। पर्याप्त फूल नपाएपछि उनले विभिन्न जिल्ला पुगेर अध्ययन गरेर मौरी चराउन काठमाडौं उपत्यका बाहिर जान थालेकी हुन्।
सरिता भन्छिन्, 'मौरी पालेर मात्र हुँदैन। खुवाउन सकिएन भने उत्पादन बढाउन सकिँदैन। मौरी चराउन बाहिर लैजान थालेपछि सोचेअनुसार उत्पादन भएको छ।'
सरिता यो व्यवसायमा कसरी प्रेरित भइन्? उनले हामीलाई आफ्नो संघर्षको कथा सुनाएकी छन्।
चितवनमा जन्मिएकी सरिताले घरनजिकैका धर्म श्रेष्ठसँग 'भागेर' बिहे गरिन्। अन्तर्जातीय भएका कारण दुवैतिरका परिवारलाई स्वीकार भएन।
यही समय उनका संघर्षका दिन सुरू भए। उनी ११ वर्षअघि चितवनबाट काठमाडौं आइन्। उनका श्रीमान चितवनमै व्यवसाय गर्थे। सरितालाई काठमाडौंमा छाडेर श्रीमान घर फर्के। सहरमा उनी नयाँ थिइन्। बिना काम बस्न मन लागेन। तर के गर्ने भन्ने अन्योलमा परिन्।
उनले ती दिन सम्झिन्, 'काठमाडौंमा जागिर खाने कि, कुनै कन्सल्टेन्सी खोल्ने कि, के गर्ने, दिमागमा यस्तै कुरा मात्र खेल्थ्यो।'
झट्ट निर्णय गर्न सकिनन्। खेतबारीमा काम गर्दै हुर्केकी सरिताले कृषिमा पनि सम्भावना देखेकी थिइन्।
त्यही बीचमा उनलाई मौरीपालनको सोच आयो। तर काठमाडौंमा सम्भव होला कि नहोला भन्ने ठम्याउन सकिनन्। छरछिमेकसँग सल्लाह माग्दा सुनिन्- काठमाडौंमा आफैंलाई बस्ने ठाउँ हुँदैन, मौरी कहाँ राख्ने?
छिमेकीको कुराले एकछिन रन्थनिए पनि निराश भइनन्। जहाँ जोखिम त्यहीँ पैसा भन्ने उनलाई लाग्थ्यो। उनी मौरीपालनबारे जानकारी लिन अनेक ठाउँ पुगिन्।
सरिता २०६७ सालको एक दिन हरिहर भवनस्थित 'कीट विकास निर्देशनालय' पुगिन्। उनी पुग्दा त्यहाँ मौरी सम्बन्धी कार्यक्रम भइरहेको रहेछ। विभागले गोदावरीमा तालिम पनि दिँदो रहेछ। उनले त्यहीँबाट मौरीपालनमा डिप्लोमासम्मको कोर्स पूरा गरिन्।
तालिममा मौरीको घार, मौरीपालनका लागि उपयुक्त वातावरण, रानी विभाजन, महको गुणस्तर लगायतका अनेक कुरा सिकिन्। तालिम पूरा नहुँदै १५ वटा घार पनि किनिन्। कुपण्डोलमा घर वरपर मौरी राखेर हेरिन्। सुरूआत राम्रै भयो। मौरी बढ्दै गए। उनी घार थप्ने निर्णयमा पुगिन्। घरेलु उद्योगमा 'माउन्टेन बी कन्सर्न' नामको उद्योग पनि दर्ता गराइन्।
यसरी व्यावसायिक रूपमा अघि बढ्ने सोच त बनाइन् तर उनलाई सजिलो भएन।
'मौरीको हेरचाह गर्न जान्दिनँ थिएँ। मौरीले चिलेर थला परेँ,' सरिताले आफ्नो अनुभव सुनाइन्, 'जति चिले पनि भोलिपल्ट तिनैसँग खेल्न पुग्थेँ। तिनै कीरासँग रमाउनु थियो।'
यसपछि उनले एकैपटक ५० घार थपिन्। यति बेलासम्ममा लगानी ६० हजार रूपैयाँ पुग्यो। तालिममा मौरी विभाजन गर्न सिकेकी थिइन्। घार थपेर १२० वटा बनाइन्, मौरी विभाजन गर्दै गइन्।
उनको घरनजिकै युएनपार्क थियो। मौरी फूलमा डुल्न पार्कमा पुग्थे। महले छिट्टै घार भरिन्थ्यो। तर सरितालाई मह काढ्ने तरिका थाहा थिएन।
'मौरी त पालेँ तर मह काढ्न आएन,' हाँस्दै भन्छिन्, 'पहिलोपटक मह काढ्दा निकै कठिन भयो। जानी नजानी काढेँ। मह देखेर खुसी लाग्यो।'
सहरमा पसलबाट किनेर खानेहरूले पनि सरिताले अर्गानिक मह काढेको देख्न पाए। छिमेकीले किने। पहिलो व्यापार राम्रो भयो। उनी उत्साहित भइन्।
उत्साहसँगै चुनौती थपियो। मौरी बढ्दै गएपछि धेरै ठाउँ आवश्यक पर्यो। कुपण्डोलमा राखेर मौरीलाई चरन नपुग्ने भयो। सरिता खुला ठाउँ खोज्न थालिन्।
यही क्रममा उनी पुगिन् धापाखेल। त्यहा पाँच रोपनी जग्गा भाडामा लिइन्। करिब डेढ वर्ष मौरी त्यहीँ राखिन्। कुपण्डोलबाट हरेक दिन धापाखेल आउजाउ गर्थिन्। दुई जना सहयोगी पनि राखिन्।
उनले घार थप्दै चार सय वटा पुर्याइन्। किन्नुको साटो आफैं घार बनाउने तालिम लिइन्। गोदावरीमा रहेको मौरी विकास कार्यालयबाट ४५ दिनको तालिम लिएपछि आफैं घार बनाउन जान्ने भइन्।
उनका अनुसार तालिम लिने थुप्रै पुरुषहरूमाझ सरिता एक्ली महिला थिइन्। तालिमकै क्रममा एकदिन मन्त्री आउने कुरा भयो। तालिमेहरू फूलमाला लिएर स्वागत गर्न लाइनमा उभिए।
त्यहाँ आएकी मन्त्री पनि महिला थिइन्। फूलमाला लिएर उभिनेको लाइनमा मन्त्रीले एक्ली महिला देखिन्। उक्त क्षण स्मरण गर्दै सरिता भन्छिन्, 'लाइनमा एक्ली महिला देखेर मन्त्रीले साहसी भन्दै मलाई नै माला लगाइदिनुभयो। राम्रो काम गर्दै जानू भन्दै शुभकामना दिनुभयो।'
घार बनाउने मेसिन र काठ किनेर उनी आफैं घार बनाउन थालिन्। बिस्तारै घारै बेच्न थालिन्। उनको आम्दानीको स्रोत थपियो।
व्यावसायिक व्यस्तता बढ्दै गएपछि आफैं घार बनाउन समय पुगेन, कर्मचारी राखिन्। भन्छिन्, 'वार्षिक २० हजार वटाभन्दा बढी घार बन्छन्, यो कामका लागि मात्र ९ जना कर्मचारी छन्।'
सरिता घारसँगै साबुन, लिपगार्ड, लुगा, पञ्जा, क्याप, मह मदानी लगायत मौरीपालन व्यवसायका लागि आवश्यक सामग्री पनि उत्पादन गरेर बेच्छिन्। हाल उनी सरकारी ठेक्कामा पनि काम गर्छिन्।
'सरकारले हरेक वर्ष मौरीपालक किसानलाई घार अनुदान दिन्छ। त्यसमा मैले बनाएकै घार जान्छ,' उनले भनिन्, 'मेरो संघर्ष र मेहनतप्रति सरकारले गरेको विश्वास हो।'
उनका अनुसार नुवाकोट, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, गोरखा लगायत जिल्लामा उनकै कारखानामा बनेका घार पुग्छन्। सरिताको मौरीपालनमा हाल ३८ जना सहयोगी कामदार छन्। व्यवसाय बढाउने क्रममा उनले छ रोपनी जग्गा थपिसकेकी छन्। अहिले उनीसँग ७ सय घार मौरी छन्।
उनी मौरी र कृत्रिम रानी पनि बनाएर बेच्छिन्। यस्तो कृत्रिम रानी एउटाको दुई हजार रूपैयाँ पर्छ।
'सामान्यतया एउटा घारबाट ७ देखि १० दिनभित्र मह काढ्न हुन्छ,' सरिता भन्छिन्, 'घार टालुन्जेल राख्दा मह राम्रो हुने भएकाले हामी १५ दिनमा मात्रै काढ्छौं।'
एउटा घारबाट एक पटकमा बढीमा २० किलो मह उत्पादन हुन्छ। उनी वार्षिक ५० टनसम्म मह उत्पादन गर्छिन्। सबै मह सिजनमै बिक्री हुन्छ। सरिता केही वर्षयता विदेशमा पनि मह निर्यात गर्दै छिन्। उनका अनुसार कोरिया, रुस, जापान, युएई लगायत देशमा उनी मह पठाउँछिन्।
'व्यवसाय यति राम्रो होला भनेर सोचेकै थिइनँ। मेरा लागि यो अकल्पनीय नै हो, धेरै खुसी छु,' उनी भन्छिन्।
उनले कृषिमा सरकारको अनुदान पनि पाएकी छन्।
'सरकारले अनुदानमा प्रोसेसिङ, प्याकेजिङ र फिलिङ गर्ने मेसिन दियो,' उनी भन्छिन्, 'त्यसले काम सहज बनायो, हौसला पनि बढायो।'
उनी आफ्नो कामको कदरमा राष्ट्रपतिमार्फत सम्मानित पनि भएकी छन्। महिला उद्यमीलाई सरकारले पुरस्कृत गर्न सकेमा हौसला बढ्ने उनको भनाइ छ। यसबाहेक सरिताले अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएकी छन्। हालै युएई सरकारबाट उनले 'कृषि उद्यमशीलतामा अब्बल महिला' नामको पुरस्कार पाएकी हुन्।
उनी भन्छिन्, 'गरे के नहुने रहेछ र! मेरो मेहनत र उद्यमलाई देशले मात्र नभई विदेशले पनि सम्मान गर्यो।'
अहिले महको गुणस्तरबारे प्रश्न उठिरहेको छ। सरकारले मह उत्पादककहाँ पुगेर परीक्षण गर्नुपर्ने उनको भनाइ छ, 'जसको मह खान योग्य छैन त्यसलाई कारबाही गर्नुपर्छ। जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन। सरकारले परीक्षण नगरे वास्तविक किसान र व्यवसायी मर्कामा पर्छन्।'
सुरूका दिनमा आफ्नै साथीहरूले कीरा पालेर पनि व्यवसाय हुन्छ र, छोड्देऊ, तिमीलाई सुहाएन भन्थे। उनी 'महिलाहरू श्रीमानमा आश्रित भएर बस्नु परेको यही सोचले हो, आत्मनिर्भर बन्नुपर्छ' भन्ने जवाफ दिन्थिन्। अहिले सरिताले तिनै साथीहरूलाई पनि मौरीपालनतिर तानेकी छन्।
धेरैका लागि प्रेरणाकी स्रोत बनेकी सरिताकै सहयोग र सल्लाहमा मौरीपालन गर्नेको संख्या बढ्दै छ। शिक्षक, आर्मी, इञ्जिनियर, गायक लगायत थुप्रै महिलाले सिकेर मौरीपालन व्यवसाय गरेको उनले बताइन्। यो व्यवसायबारे बुझ्न विभिन्न जिल्लाबाट महिला समूहका सदस्य र पुरुषहरू पनि आउने गरेको उनको भनाइ छ।
सरिताको प्राथमिकता भने महिलालाई छ। मौरी व्यवसाय गर्न इच्छुक महिलालाई घार उपहार दिने गरेकी छन्। उनका श्रीमान् पनि चितवनमा मौरीपालन गर्छन्।
उनी भन्छिन्, 'महिला र पुरुष दुबैले एकअर्कालाई साथ दिन सके व्यावसायिक हिसाबले दुबै अब्बल हुन सकिन्छ।'